विराटनगर । विराटनगरमा रहेको कोबास कलेजका प्रमुख सुनिलकुमार श्रेष्ठले  कन्सल्टेन्सीका कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ।  कोबास कलेज भएको भवनमा सञ्चालन रहेको विराट मिथिला कन्सल्टेन्सीमा कार्यरत शुभम् साहलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटको आरोपमा  कोबास कलेजका प्रमुख सुनिल कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।   उनलाई वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । 
कन्सल्टेन्सी विगत ५ वर्षदेखि त्यहाँ सञ्चालित थियो । पछिल्लो समय  कन्सल्टेन्सी र कलेजका सञ्चालकको बिचमा केही विवाद हुँदै आएको बताइन्छ ।  कलेजका प्रमुख श्रेष्ठले त्यहाँबाट कन्सल्टेन्सीलाई हटाउनको लागि पटक पटक आग्रह गर्दै आएका थिए । कन्सल्टेन्सीका सञ्चालक हिमांशु साहले अहिले सिजन भएकोले केही समय पछि मात्र हट्ने भन्ने सहमति भएको बताए ।  तर पैसा नदिएको विषयमा आफूसँग कहिल्यै पनि नभनेको साहको भनाई छ ।  ‘त्यहाँ हामीले दुई वटा कोठा लिएर अफिस चलाउँदै आएका थियौँ, हिमांशुले भने, पछिल्लो एक महिना देखि कोठा खाली गर्न भन्नु भएको थियो, कलेजले भनेपछि एउटा कोठा २७ गते नै मैले खाली गरिदिएको थिएँ, एउटा कोठाबाट मात्र कार्यालय चलाउने दोहोरो सहमति भएको थियो ।’  एकाएक गुण्डागर्दी शैलीमा आएर  आफ्नो कर्मचारीमाथि कुटपिट गरेको साहले बताए । 
पछिल्लो ३ महिनादेखि घर भाडा नतिरेको आरोप कलेजका प्रमुख श्रेष्ठले कन्सल्टेन्सीमाथि लगाउँदै आएका छन् । घर भाडा बापतको ८७ हजार तिर्नु पर्नेमा विगत ३ महिनादेखि नतिरेको श्रेष्ठको भनाई छ। ‘घर भाडा नतिरेको बारेमा पटक पटक जानकारी गराउँदा समेत बेवास्ता गरेपछि केही कर्मचारी सहित म  कन्सल्टेन्सीको कार्यालयमा पुगेको थिएँ, श्रेष्ठले भने, त्यहाँ रहेको शुभम् साह भन्ने भाईले हामीमाथि मनपरी गालीगलौज गरेपछि मैले कुटेको हुँ ।’ कुरा के हो भनेर बुझ्न जाँदा किन आएको भन्दै गाली गरेको श्रेष्ठ बताउँछन् ।  आफूले कुटपिट गरेको श्रेष्ठले स्वीकार गर्दै आएका छन् ।
प्रहरी पनि यो विषयमा अलमलिएको छ । कलेजका सञ्चालक पक्राउ गरेको जनाएको प्रहरीले छलफल भइरहेको भन्न थालेको छ।  लामो समयदेखि भाडा पनि नतिरेको र घर पनि नछाडेपछि विवाद भएको हो भन्नेसम्म जानकारी आएको   जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।  ‘त्यो विषय जिल्लासम्म आई सकेको छैन, उनले भने,  वडा प्रहरी कार्यालयबाट नै छलफलका लागि क्याम्पस सञ्चालकलाई ल्याइएको हुनसक्छ ।’

यस्तो छ, भिडियो

क्याम्पस प्रमुख श्रेष्ठले कन्सल्टेन्सीका कर्मचारीलाई कुटपिट गरेको भिडियो समेत सार्वजनिक भएको छ। क्याम्पस प्रमुख सहितको चार जनाको टोली कन्सल्टेन्सीको कार्यालयमा प्रवेश गर्छ । त्यहाँ प्रवेश गर्दै गर्दा पछिल्ला एक व्यक्तिले ढोका पनि लगाउँछन् । साँझको ४ बजेर ५३ मिनेट जाँदै गर्दा त्यहाँ पुगेका व्यक्तिहरूको बिचमा केही कुराकानी भएको भिडियोमा देखिन्छ । कुरा हुँदै गर्दा श्रेष्ठ जङ्गिँदै जुरुक्क उठ्छन् । अर्को तर्फ लामो कपाल पालेका अर्का व्यक्ति पछिसँगै उठ्छन् र औँला ठड्याउँदै दुवै मिलेर गाली गरेको जस्तो भिडियोमा देखिन्छ । त्यसपछि श्रेष्ठले मुक्का प्रहार गर्न थाल्छन्, शुभम् साह भन्ने व्यक्तिलाई लगातार हानिरहेको भिडियोमा स्पष्ट देखिन्छ ।  कुटपिटको विषय सामान्य नभई सुनियोजित भएको आरोप कन्सल्टेन्सीका सञ्चालक हिमांशुको छ ।   यसरी कुटपिट गर्दा समेत प्रहरीले जाहेरी लिन नमानेको उनले आरोप लगाए ।   घटनाको बारेमा अहिले अनुसन्धान भइरहेको र दुवै पक्षसँग यो बारेमा जानकारी लिने काम भइरहेको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ।