तेह्रथुम — धनकुटा र तेह्रथुमको सीमा क्षेत्र चित्रे र बसन्तपुर बजारमा बुधबारबाट यस क्षेत्रकै ठुलो राँके मेला सुरु भएको छ । पूर्वकै ऐतिहासिक पुरानो मेला चित्रे बजारमा २ सय वर्षअघि देखि लाग्दै आएको स्थानीय बुढापाकाहरु बताउँछन् ।
केही वर्ष अघिसम्म यो मेला एक सातासम्म संचालन हुन्थ्यो । पहाडी क्षेत्रको यो मेलामा पूर्वी पहाडी जिल्लाका युवा युवतीहरुको बाक्लो उपस्थिति छ । मेला भर्न तेह्रथुम र धनकुटासहित धरान, इटहरी, झापा, भोजपुर, संखुवासभा र भारतको दार्जिलिङ देखिका युवा युवतीहरु यहाँ आइपुग्ने गरेका छन् ।
मेलामा आउनेहरु अधिकांश आफ्ना प्रेमी र प्रेमीकाका साथ आउने गरेका स्थानीय पुर्णजङ राईले बताए । मेला भर्न आएकाहरुले बसन्तपुर र चित्रे बजारका सबैजसो होटलहरु भरिएका छन् । वर्षमा एक पटक साउन २ गतेबाट सुरु हुने यो मेला पूर्वी पहाडी जिल्लाकै पुरानो र ठुलो मेला भएको स्थानीय कुमार मगरले बताए ।
स्थानीय बुढापाकाका अनुसार यो मेला चित्रे बजारमा २ सय वर्षअघि देखि लाग्न थालेको हो । मेलाको प्रमुख आकर्षण लिम्वु समुदायको धान नाच भए पनि पछिल्लो समय यो नाच लोप हुँदै गएको अवस्था छ ।