इटहरी । सामाजिक आर्थिक रुपान्तरणका लागि इटहरीका महिला तथा युवालाई प्रशिक्षण दिइएको छ । बुधबार इटहरीमा महिला सञ्जाल इटहरीको आयोजनामा प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । 

सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रगतिशित उपयोग सिद्धान्तको माध्यमबाट कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा महिला उद्यमी, अधिकारकर्मी,पेशा व्यवसाय गर्ने महिला तथा अन्य विभिन्न क्षेत्रमा अगुवाई गर्दै आएका महिलाहरुलाई प्रशिक्षण दिइएको हो । 

विशेष गरी प्रगतिशित उपयोग सिद्धान्त मार्फत कसरी सामाजिक तथा आर्थिक रुपमान्तरण गर्न सकिन्छ भन्ने विषयमा विषय विज्ञ राजेश सिंहले प्रशिक्षण दिएका थिए । भारतीय अर्थविद समेत रहेका सिंहले आर्थिक रुपान्तरणका लागि राज्यलाई कसरी जिम्मेवार बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको महिला सञ्जाल इटहरीकी अध्यक्ष योषा गुरागाँईले जानकारी दिइन् । 

समाजमा अग्रणी भूमिका निर्वाह गर्दै आएका महिलाहरुको थप क्षमता विकासका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रमकी सहजकर्ता डा. तारा काफ्ले जानकारी दिइन् । यो कार्यक्रमले महिलाहरुलाई आ आफ्नो क्षेत्रमा काम गर्न व्यवस्थापकिय क्षमता पनि विकास हुने उनले बताइन् । 

यस्तै प्रगतिशित उपयोग सिद्धान्त र सामाजिक आर्थिक स्वतन्त्रता विषयमा लियो क्लब अफ इटहरी इनोभेसनको आयोजनामा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरिएको छ । विशेष गरी युवा वर्गहरुलाई आर्थिक सामाजिक विकासका लागि प्रगतिशिल उपयोग सिद्धान्तले कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । भारतीय अर्थविद् राजेश सिंहले नै युवाहरुलाई प्रशिक्षण दिएका थिए ।