विराटनगर । चर्चित लोक गायक एलपी जोशी (लक्ष्मी प्रसाद जोशी) को निधन भएको छ । ८८ वर्षको उमेरमा  जोशीको दमक स्थित निवासमा मृत्यु भएको हो । खाना खाएर गफ गर्ने क्रममा एक्कासि बेहोस भएका जोशीको दमकस्थित लाइफलाइन हस्पिटलमा निधन भएको हो ।
उनलाई सुगर बाहेक अन्य रोग नभएको परिवारले जनाएको छ । उनी चित्रकार, समेत हुन् । नेपालको दोस्रो चलचित्र ‘हिजोआज भोलि’ मा उनले मुख्य भूमिकामा अभिनय समेत गरेका थिए । 

जोशीले ९ वटा चलचित्रमा अभिनय गरेका थिए ।  कोशी प्रदेशको मौलिक किराँत नृत्यलाई पहिलोपल्ट राष्ट्रिय स्तरमा चिनाउने काम समेत जोशीले गरेका थिए । उनले नै पहिलोपल्ट मुनामदनलाई गीतिनाटकका रूपमा मञ्चन गरेका थिए । 

जोशीको  धनकुटा बजारमा जन्म भएको थियो । जोशी पछि बसाइ सराइका क्रममा झापा दमकमा बसोबास गर्दै आएका थिए  । जोशीको २०१३ सालमा पहिलो पटक रेडियो नेपालमा  गीत रेकर्ड भएको थियो । उनका रिटिङ्ग रिटङ्ग नबजाऊ बिनायो,ओल्लो  खोलो पल्लो खोलो  ‘कान्छी मट्याङट्याङ् लगायतका गीत चर्चामा रहेका छन् ।

गायक एलपी जोशीको अहिले सम्म ४५ ओटा गीतहरु रेडियो नेपालमा रेकर्ड भएका छन् । उनका अधिकांश गीतहरु २०२० साल पहिले नै रेकर्ड भएका हुन् । 

यसैबिच लोकप्रिय लोक गायक एलपी जोशीप्रति मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।   जोशीको निधनमा नेपाली सङ्गीत तथा कला क्षेत्रमा अपूरणीय क्षति भएको मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमा दुख व्यक्त गर्दै  लेखेका छन्  ।  

जोशीको आइतबार अन्तेष्टी गरिने भएको छ । परिवारका सदस्य आइ नपुगेकाले आइतबार मात्रै अन्तेष्टी गर्ने कार्यक्रम रहेको परिवारले जनाएका छन् । उनका एक छोरा रहेका छन् । श्रीमती र एक छोराको भने यस अघि नै मृत्यु भइसकेको छ ।