विराटनगर । सहारा नेपालले मोरङ जिल्लामा सञ्चालन गरेको विश्वास परियोजनाको बारेमा समीक्षा गरेको छ । जिल्ला परियोजना सल्लाहकार समितिको बैठकले मोरङ जिल्लामा सञ्चालनमा रहेको विश्वास परियोजनाको अहिलेको अवस्था र आगामी दिनमा गर्नु पर्ने कार्यहरूको बारेमा समेत सुझाव लिएको थियो ।  फेयरमेडको सहयोगमा सहाराले मोरङ जिल्लाका ७ वटा पालिकामा विश्वास परियोजना सञ्चालन गर्दै आएको छ।  
कार्यक्रमका संयोजक पवन राईले पालिकाहरू स्वास्थ्य र सरसफाइ अभियानहरू सञ्चालनमा रहेको जानकारी दिए । उनले स्वास्थ्य आमा समूह परिचालन लगायत, हात्तीपाइले, डुेगु नियन्त्रण लगायत स्वास्थ्य प्रवर्द्धनको अभियानमा कामहरू भएको बताए । मोरङ जिल्लामा परियोजना सञ्चालित सबै पालिकाका स्वास्थ्यका कर्मचारीहरूलाई तालिम दिएको बताए । जनस्वास्थ्य क्षेत्रको प्रवर्द्धनका लागि एक वर्षमा २७४ जना स्वास्थ्यकर्मी, ३५८ जना महिला स्वास्थ्य स्वयम सेविका लगायतलाई पालिका स्तरमा गरिने स्वास्थ्य अभियानको बारेमा जानकारी गराउँदै प्रशिक्षण दिएको  उनले बताए ।  सहारा नेपालले  मोरङ जिल्लाका ७ वटा पालिकामा आमा समूह परिचालन  गरी स्वास्थ्य अभियानहरू सञ्चालन गर्दै आएको छ । 
हरेक महिना बस्ने आमा समूहको बैठकमा गाउँमा स्वास्थ्य परीक्षण, गर्भ जाँच, खोप, बाल स्वास्थ्य, मातृ स्वास्थ्य, कुष्ठरोग, हात्तीपाइले लगायतका १० प्रकारका नसर्ने उष्णप्रदेशिय रोगहरूको बारेमा समेत छलफल हुने गरेको जानकारी दिइएको थियो   । परियोजना सञ्चालनको क्रममा एक वर्षको अवधिमा १६६ हात्तीपाइले कुष्ठरोग सम्बन्धी हेरचाह तालिम दिइएको समेत जानकारी दिइयो । 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अजम्मर राईले एक स्थानीय तह भन्दा बढी स्थानीय तहमा कार्यक्रम गरिरहेका पालिकाका प्रमुखहरू सल्लाहकार समिति रहेकोले पालिकाहरूले आफ्नो पालिकामा गरेको कामको बारेमा जानकारी लिन र दिनकोलागि यो कार्यक्रम भएको बताए । जिल्ला परियोजना सल्लाहकार समितिको अध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख रहने ब्यवस्था रहेको छ। त्यसको आधारमा कार्यक्रम सञ्चालन रहेको जहदा, धनपालथान, रंगेली, सुनवर्सी, रतुवामाई र उर्लाबारीका प्रमुख तथा उपप्रमुख सहित विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।