इटहरी । जनता बहुमुखी क्याम्पसको शैक्षिक विकासमा पूर्व विद्यार्थी समाज सक्रिय भएर लाग्ने भएको छ । 
इटहरीकै एक मात्र सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर विकास,पूर्वाधार विकास तथा सामाजिक विकासमा काम गर्ने पूर्व विद्यार्थी समाजले बताएको छ । 
गत जेष्ठ २६ गते पूर्व विद्यार्थीहरूको सर्वपक्षीय भेला पश्चात् निर्वाचनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई पदस्थापन गराइएको छ ।
मिलन त्रितालको अध्यक्षतामा ११ सदस्य कार्यसमिति निर्वाचित भएको थियो । आज(शुक्रवार) नवनिर्वाचित समितिलाई विजयीको प्रमाण पत्र वितरण गरियो । 
जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसी तथा क्याम्पस प्रमुख डा. गीता अधिकारी पौडेलले विजयीहरूलाई प्रमाण पत्र वितरण गरेका थिए । 
निर्वाचन समिति संयोजक नवीन शर्माले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा शपथ ग्रहण गराएका थिए ।  
कार्यक्रममा शुभकामना व्यक्त गर्दै जनता बहुमुखी क्याम्पसका प्रमुख डा. गीता अधिकारी पौडेलले क्याम्पसको शैक्षिक विकासमा पूर्व विद्यार्थी समाजले भूमिका खेल्ने अपेक्षा गरिएको बताइन् । 
क्याम्पसबाट अध्ययन गरी पास आउट भएका विद्यार्थीहरूलाई पुनः एक ठाउँमा गोलबद्ध गर्ने महत्त्वपूर्ण जिम्मेवारी समाजले पुरा गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । समाजलाई पदमा बस्ने मात्रै नभएर काम गरेर देखाउन अवसर पनि रहेको बताइन् । 
यस्तै क्याम्पसका सञ्चालक समितिका अध्यक्ष विकास केसीले क्याम्पसको शैक्षिक विकास र आर्थिक स्रोत खोजीमा सञ्चालक समितिलाई सहयोग गर्ने अपेक्षा रहेको बताए । 
JMC college

क्याम्पसको आफ्नो स्थायी आर्थिक स्रोत नभएको बताउँदै अध्यक्ष केसीले स्रोतको व्यवस्थापन निकै चुनौती रहेको बताए । यसमा पूर्व विद्यार्थी समाजले भूमिका खेल्न सक्ने उनको अपेक्षा छ । 
जनता क्याम्पसमा पानीको ट्याङ्की नहुँदा विद्यार्थीलाई स्वच्छ पानी खुवाउन समस्या भइरहेको अध्यक्ष केसीले बताए । तत्कालका लागि पानीको ट्याङ्की उपलब्ध गराउन पनि पूर्व विद्यार्थी समाजले सहजीकरण गर्न आग्रह गरे । 
पूर्व विद्यार्थी समाजका नवनिर्वाचित अध्यक्ष मिलन त्रितालले क्याम्पसमा अध्ययन गरी पास आउट भएका पूर्व विद्यार्थीहरूको खोजी गर्दै संस्थामा गोलबद्ध गराउने प्रतिबद्धता जनाए । क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन र स्ववियुसँग समन्वय गरी अन्य क्षेत्रमा काम गर्ने अध्यक्ष त्रितालले बताए । 
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निर्वाचन समिति, क्याम्पस सञ्चालक समिति, प्राध्यापक सङ्घ, स्वतन्त्र विद्यार्थी युनियन लगायत सहयोगी सबैलाई धन्यवाद दिने निर्णय गरेको सचिव युवराज काफेले जानकारी दिए । 
जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले नवनिर्वाचित पूर्व विद्यार्थी समाजलाई बधाई ज्ञापन गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा क्याम्पसको शैक्षिक अवस्थाको विषयमा छलफल गरेको छ ।
क्याम्पस, विद्यार्थी र स्ववियुको बारेमा स्ववियु सभापति सहदेव काफ्लेले जानकारी गराएका थिए । स्ववियुको नयाँ भवन चाँडै निर्माण हुने उनले जानकारी दिए । क्याम्पस हाता भित्रै भवन निर्माणको ठेक्का प्रक्रिया सुरु भइसकेको उनले बताए ।