सुनसरी । इलाम, मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । इलाममा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । झापाबाट माई नगरपालिका तर्फ जाँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका-२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रवार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बिचमा सवार माई नरपालिका-१० गजेनी भन्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । अन्य दुई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक माई नगरपालिका-१० गजेनी भन्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन् ।
यस्तै मोरङको सुन्दरहरैचा स्थित गोठगाउमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । शुक्रवार अपराह्न टिपरको ठक्करबाट मोटरसाइकलमा सवार मोरङ केराबारी ९ का ६९ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ । उनका छोरा २२ वर्षीय मोटरसाइकल चालक रञ्जीत मगर घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै इटहरीको मुख्य चौकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इटहरीको मुख्य चौक स्थित ट्राफिक लाइट रहेको दक्षिण मोडमा शुक्रवार दिउसो ट्रकले ठक्कर दिँदा एक पुरुष साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भोजपुर षडानन्द नगरपालिका १४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए । साइकल यात्री श्रेष्ठलाई प्रदेश १-०२-००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । पूर्वबाट जाँदै गरेको साइकल यात्रीलाई सोही दिशाबाट जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीको भनाई छ ।