विराटनगर । धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा आज घेराउ गरिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको विरोधमा स्थानीयले बोर्डको कार्यालय घेराउ गरेका हुन् ।
घेराउमा सहभागीहरूले खानेपानीको समस्या समाधान गर्न नसकेको र उल्टै शुल्क र महसुल बढाएको भन्दै मेयर हर्क साम्पांगको राजीनामा माग गरेका छन् ।
सहभागीहरूले खानेपानीको समस्या समाधान गर्न नसके राजीनामा दिने आशयको प्लेकार्ड समेत बोकेका छन् ।
खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उप महानगरपालिकाका मेयर हर्क साम्पांगले आफूखुसी खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको विरोधमा धरानमा एक सातादेखि आन्दोलन भइरहेको छ ।
धरानमा खानेपानीको समस्या समाधान गर्ने नारा सहित चुनावमा उत्रिएका साम्पांग मेयर भएपछि धरानमा ९ हजार ९ सय प्रतिशत सम्म खानेपानी जडान लगायतका शुल्कमा वृद्धि गरिएको छ ।
साउन १ गतेबाट लागु हुने गरी शुल्क र महसुलमा वृद्धि गरिएपछि राजनीतिक दल तथा नागरिक समाजले पुरानै शुल्क र महसुल कायम गर्न माग राख्दै आन्दोलनका कार्यक्रम सुरु गरेका हुन् ।
मेयर भएपछि साम्पांगले खानेपानी व्यवस्थापन बोर्ड उप महानगरको मातहतमा ल्याउँदै मेयर नै अध्यक्ष हुने व्यवस्था गरेका थिए ।
खानेपानीको मुद्दा बोकेर मेयर भएपछि कसैसँग सल्लाह नगरी शुल्क र महसुल वृद्धि गरेपछि धरानमा साम्पांगको चर्को आलोचना हुँदै आएको छ ।
यसैबिच आज मात्रै खानेपानी महसुल वृद्धि गरिएकोबारे उपमेयर अइन्द्रबिक्रम बेघासहित वडाअध्यक्षहरुले खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)लाई ज्ञापन पत्र बुझाएका छन् ।
साबिककै शुल्क र महसुल कायम गर्नुपर्ने भन्दै आन्दोलनरत १० राजनीतिक दलहरूले शुक्रवार सबै वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।