सुनसरी । दशौं राष्ट्रिय खेलकुद आउन तीन महिना मात्र बाँकी छ । तर प्रतियोगिताका लागि कोशी प्रदेशले कुनै तयारी सुरु गरेको छैन् । अहिलेसम्म जिल्ला छनोटका काम सम्पन्न भइसक्नु पर्ने हो तर खेलाडी दर्ताको काम पनि सुरु भएको छैन् ।

राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय कुन-कुन खेल समावेश हुने जानकारी नगराएको र कुनै पनि निर्देशन नदिएका कारण तयारी सुरू नभएको हो । वर्षाका कारण खेलकुद गतिविधि गर्न समस्या हुने भएको भन्दै कोशी प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुदमा भाग लिने खेलाडीको अभ्यास पनि सुरु भएको छैन् ।

असार अन्तिम साता कोशी प्रदेशका खेलकुदका अधिकारीहरूको बैठकमा दशौं राष्ट्रिय खेलकुदको तयारी गर्न निर्देशन दिएको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । कोशी सरकारले दशौं राष्ट्रिय खेलकुदका लागि एक करोड रूपैयाँ विनियोजन गरेको छ ।

यो रकम अत्यन्तै न्यून हो । किनकि पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आठ करोड रूपैयाँभन्दा बढी रकम खर्च भएको थियो । कोशीमा अहिलेसम्म पनि राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित कुनै पनि खेलकुद प्रतियोगिता भएका छैनन् ।