विराटनगर । कोशी प्रदेशमा निरन्तर  बजेट खर्च घट्दै गएको छ । कोशी प्रदेशमा तीन वर्षमा सबै भन्दा कम आर्थिक वर्ष २०८०/८१ मा बजेट खर्च भएको छ । कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कोशीमा गत आर्थिक वर्षको भन्दा ७.८ प्रतिसतले बजेट खर्चमा कमी आएको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०८०/८१मा  कोशी प्रदेशमा २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ बजेट खर्च गरेको जनाएको छ । 
जस मध्ये चालू खर्च बाट ८ अर्ब ३६ करोड ८ लाख रुपैयाँ र पुँजीगत तर्फ १६ अर्ब ३६ करोड ६ लाख रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकारले स्थानीय सरकार अनुदान तर्फ ३ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । 
आर्थिक वर्ष ७९/८० मा भने कोशी प्रदेशमा ३० अर्ब ७५ करोड ७७ लाख रुपैयाँ बजेट खर्च गरेको थियो । जस मध्ये चालू तर्फ ९ अर्ब ९ करोड ८३ लाख रुपैयाँ र पुँजीगत तर्फ १८ अर्ब ११ करोड २५ लाख रुपैयाँ खर्च भएको छ ।
सो आर्थिक वर्षमा कोशी प्रदेश सरकारले ३ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ स्थानीय तह अनुदान तर्फ खर्च गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा भने कोशी प्रदेश सरकारले २९ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ खर्च गरेको थियो । यो खर्च कुल बजेटको ८६.२ प्रतिशत खर्च हो । आर्थिक वर्ष ७९/८० र ८०/८१ मा भने प्रदेशमा ७७ प्रतिशत बजेट खर्च भएको थियो ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले सरकार परिवर्तनका कारण पनि बजेट खर्च घटेको बताए । कहिले कुन सरकार कहिले कुन ? सरकारमा भइरहने फेरबदलले पनि प्रदेश सरकारले बजेट खर्च कम गरेको हो । उनले भने,‘ सरकार फेरबदल भइरहे पनि बजेट खर्च सन्तोष जनक छ। ’