सुनसरी । बालबालिकाको शिक्षा र स्वास्थ्यमा क्रियाशील किवानिज इन्टरनेशनल नेपालको डिष्ट्रिक भाइस गभर्नरमा रामहरी सुवेदी निर्वाचित भएका छन् ।
इटहरीमा शनिबार राति सम्पन्न छैटौं डिष्ट्रिक सम्मेलन अन्तर्गत भएको निर्वाचनमा अर्का प्रतिष्पर्धी श्यामकृष्ण फुयाललाई ९९ सय मतान्तरको फराकिलो अन्तरले पराजित गर्दै सुवेदी निर्वाचित भएका हुन् ।
सुवेदीले २ सय २ मत ल्याउँदा फुयालले १ सय ३ मत मात्र ल्याउन सके । कुल ३ सय ६ मत खसेकोमा १ मत बदर भएको इटहरी किवानिज क्लबकी अध्यक्ष मनिता तामाङले जानकारी दिइन् ।
डिष्ट्रिक भाइस गभर्नरमा निर्वाचित सुवेदीलाई यसअघि विभिन्न सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभव छ ।
अन्नपूर्ण किवानिज क्लब नेपालका संस्थापक अध्यक्ष रहेका सुवेदी किवानिज वर्ष २०१८–१९ र २०१९–२० मा कि लिडर, २०२०–२१ डिष्ट्रिक्ट सहकोषाध्यक्ष, २०२१–२२ डिष्ट्रिक कोषाध्यक्ष, २०२२–२३ डिभिजन ४ र ५ का कन्सुलर हुँदै बर्ष २०२३–२४ का लागि डिभिजन ६ का ल्युटिनेन्ट गभर्नरका रूपमा उनले भूमिका निर्वाह गरेका थिए ।
सम्मेलनमा बिदेशीसहित ५ सय भन्दा बढी किवानिजहरूको उपस्थिति रहेको आयोजक इटहरीकिवानिज क्लबकी अध्यक्ष तामाङले जानकारी दिइन् ।
दुई दिनसम्म चलेको कार्यक्रममा ‘१३९ क्लव, २ हजार ३ सय सदस्यमध्ये उक्त सम्मेलनमा पाँच सय भन्दा बढी किवानिज प्रतिनिधिहरू इटहरीमा एकैपटक भेला भएको तामाङले बताइन् ।
कोशी प्रदेशमै पहिलो पटक भएको छैटौं डिष्ट्रिक्ट सम्मेलनको शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।
सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले १८ वर्षमुनिका बालबालिकाको र शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।
नेपालमा सन् २०१६ देखि किवानिज क्लव औपचारिक रूपमा स्थापना भएको हो । नेपालमा पनि क्लबले विभिन्न विद्यालयमा बालबालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आएको बताइएको छ ।