सुनसरी । टिपर दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले कोसी प्रदेशका मुख्य सडकमा टिपर सञ्चालनमा टाइम कार्ड लागू गरे पनि कार्यान्वयन हुन नसक्दा दुर्घटना बढेको छ ।
दुर्घटना अत्यधिक बढेपछि कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयले कार्यालय समय र शिक्षण संस्था खुल्ने र बन्द हुने समयमा प्रदेशको मुख्य सडकमा टिपर सञ्चालनमा रोक लगाएको छ । तर प्रहरीको यो नियमको पूर्ण कार्यान्वयन नहुँदा र टिपर चालकले नियम उल्लङ्घन गर्न नछाडेकै कारण टिपर दुर्घटनामा कमी आउन नसकेको कोसी प्रदेश प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०८०-८१ मा कोसी प्रदेशमा टिपरको ठक्करबाट १८ जनाको मृत्यु भयो भने १ सय ४ जना घाइते भए । त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा ६९ वटा टिपर दुर्घटनामा १८ जनाकै मृत्यु भएको थियो ८६ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८१-८२ को एक महिनाको अवधिमा मात्र कोसी प्रदेशका विभिन्न जिल्लामा टिपरको ठक्करबाट तीन जनाको मृत्यु भैसकेको छ । ट्राफिक प्रहरीका अनुसार ढुङ्गा-गिट्टी बोक्ने टिपर बढी दुर्घटनामा पर्ने गरेका छन् ।
कमिसनको लोभमा धेरै पटक ढुङ्गा गिट्टी बोक्न तीव्र गतिमा चलाउँदा दुर्घटना हुने गरेको छ । हरेक दिन बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ४ बजेसम्म सडकमा धेरै सवारी आवागमन हुने भएकाले टिपर सञ्चालनमा रोक लगाइएको हो । तर व्यवसायीको अटेरीपनका कारण टिपरका लागि लगाइएको टाईमकार्ड लागू हुन सकेको छैन ।
यसले गर्दा दुर्घटनामा कमी आउन सकेको छैन ।