सुनसरी । यसपालिको जनै पूर्णिमा र रक्षा बन्धन अर्थात् ऋषितर्पणी पूर्णिमा आज परेको छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन र जनै पूर्णिमा आज देशभर नयाँ जनै र रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

हिन्दु धर्मशास्त्र अनुसार यस दिन जनै फेर्ने, डोरो वा राखी बाँध्ने गरिन्छ । नेवार समुदायमा क्वाँटी खाने, खेतको बालीको रक्षा गर्ने भ्यागुतालाई पनि क्वाँटी खुवाउनेसमेत प्रचलन छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल-तलाउ र पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेमा नकारात्मक तत्वविरुद्ध रक्षा प्राप्त हुने विश्वास छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने आज दिउँसो १ बजेर ३१ मिनेटसम्म भद्रा परेको जनाएको छ । आज १ बजेर ३१ मिनेटपछि अर्थात् भद्रा कटाएर मात्र रक्षाबन्धनको कर्म गर्नु मुनासिव देखिएको समितिको भनाइ छ ।

भद्राभित्र रक्षाबन्धनलगायत जनै पूर्णिमा सम्बन्धी काम गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उब्जेको भन्दै समितिले साउन ३१ गते यसबारेमा विज्ञप्ति निकालेरे स्पष्ट पारेको थियो ।