विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी  र बिहार इण्डष्ट्रिज एसोसिएसन पटनाबिच भगिनी सम्बन्ध कायम भएको छ ।   महासङ्घका अध्यक्ष राजेन्द्र राउत र एसोसिएसनका अध्यक्ष के.पी.एस. केसरी बिच  मङ्गलवार पटनामा भएको कार्यक्रममा सम्बन्ध स्थापित भएको हो ।  व्यवसाय प्रवद्र्धनकोलागि द्विपक्षीय सम्बन्ध स्थापित भएको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, निजी क्षेत्रको सबैभन्दा ठुलो सञ्जाल भएको संस्था हो । महासङ्घ कोशीले यस प्रदेशमा उद्योग व्यवसाय मैत्री वातावरण निर्माणको लागि नीतिगत तहमा पैरवी गर्दै पछिल्लो समय कृषि क्षेत्रको रूपान्तरणको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। बिहारको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने  बिहार इण्डष्ट्रिज एसोसिएसन पटना र महासङ्घ कोशी बिच स्थापना हुने भगिनी सम्बन्धले दुई पक्षीय व्यापारलाई अभिवृद्धि गर्नुका साथै लगानीको प्रवर्द्धन हुने अध्यक्ष राउतको दाबी छ ।  ‘यसबाट व्यावसायिक सम्बन्ध सहकार्य बढेर जाने देखिन्छ, अध्यक्ष राउतले भने,  यस सम्बन्धबाट व्यावसायिक वातावरण निर्माणको लागि नीतिगत तहमा संयुक्त रूपमा पैरवी गर्ने आधार तय भई नेपालको कोशी प्रदेश र बिहार राज्य भारतको व्यापार क्षेत्रमा लाभ पुग्ने विश्वास गरिएको छ ।’
भाद्र २७ देखि ३० गतेसम्म हुने कृषि एस्क्पोका लागि उक्त एशोसिएशनबाट सहभागिता रहने दाबी महासङ्घको छ।  कृषिका प्रविधि, कृषि उपज वस्तु तथा कृषि विज्ञको समेत सहभागिता रहने बिहार इण्डष्ट्रिज एसोसिएसनका अध्यक्ष केसरीले प्रतिबद्धता जनाए । पटनामा भएको कार्यक्रममा महासङ्घका अध्यक्ष राजेन्द्र राउत, कोषाध्यक्ष सुवास आचार्य, केन्द्रीय सदस्य एवं यस महासङ्घका सल्लाहकार अविनाश बोहरा लगायतको सहभागी थिए ।