काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपालले बंगलादेशको सामना गर्दै छ । दुबै टोली यस अघिनै सेमिफाइनलमा प्रवेश गरिसकेका कारण यस खेलपछि समूह विजेताको टुङ्गो लाग्ने छ ।

नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो । नेपालको जितमा निराजन धामीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भएको थियो । खेलको अधिकांश समय बल पोसेसनमा नियन्त्रण लिएको नेपालले गोलका केही अवसरहरु खेर फालेको थियो ।

उर्जन महर्जनको टोली यस खेलमा कुनै पनि अवसर खेर नफाल्ने योजनामा हुने छ । घरेलु समर्थक माझ टिम स्पस्ट ३ अंकका साथ समूह विजेता बन्ने लक्ष्यमा हुने छ । मंगलबार भएको खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको बंगलादेश उच्च लयमा छ । साविक उपविजेता समेत रहेको बंगलादेशको जित पछि नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका थिए भने श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको थियो ।

कुशल देउवाको कप्तानीमा मैदान उत्रिने नेपाली युवा टोलीले बंगलादेशलाई कमजोर भने आकलन गर्ने छैन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ बजे सुरु हुने छ । निरन्तरको वर्षाले खेलाडीहरुका लागि केही प्रतिकूल अवस्था भए पनि खेल रोकिने छैन ।