विराटनगर । किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा झापा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका– ५ मा ती किशोरीलाई सात जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका एक जना भने फरार रहेको प्रहरीले जनाएको छ । शुक्रवार राती ती युवाहरूले किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बलात्कारको घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनीश लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेको बताए ।  

यस्तै अर्जुनधारा–८ का १९ वर्षीय सुनिल राजवंशी,सुदिप श्रेष्ठ र सुजन डाँगी पक्राउ परेका छन् । लिम्बु राई र मगरले शुक्रवार साँझ  अर्जुनधारा–८ नयाँ बजारको बाख्रा हाटको फलैँचामा बालिकालाई बलात्कार गरेका थिए ।

राति ११ बजेतिर अर्जुनधारा–७ स्थित लङ्का होटेल एन्ड रिर्सोर्टमा  अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनाबारे शनिवार साँझ मात्र जानकारी पाएको चन्दले बताए ।  पीडित बालिकाको उपचार भइरहेको छ । घटनामा संलग्नमध्ये तामाङ फरार छन् ।