विराटनगर । सुनसरीको प्रसिद्ध तीर्थस्थल चतरामा लागेको कुम्भ मेलामा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । प्राचीन हरिद्धारकारुपमा समेत चिनिने चतरा धाममा चैत्र यही २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना भएको थियो । मेलामा ३० लाख भक्तजन आउने अपेक्षा गरिएकोमा अपेक्षा गरे भन्दा दोब्बर भक्तजन आएको मेला आयोजक समितिले दाबी गरेको थियो । मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट सर्वसाधारणको सहभागिता रहेको आयोजकले दाबी गरेको छ । कुम्भ मेलाका लागि स्थानीय, सरकार र प्रदेश सरकारले समेत आर्थिक लगानी गरेको थियो । कुम्भ मेलाको भएको आम्दानी र खर्चको विवरण सार्वजनिक नभएको भन्दै स्थानीय पत्रकार र चतरा क्षेत्रका सामाजिक अगुवाले असारमा सूचना माग गरेका थिए । सूचना माग गर्दा पनि माग गरिएको विवरण कुम्भ मेला आयोजक समितिले उपलब्ध नगराएपछि चतरामा आइतबार स्थानीयले विवरण उपलब्ध गराउन  दबाब मूलक कार्यक्रम समेत गरेका छन् । सूचनाको हक प्रयोग गरे निवेदन दिँदा समेत सूचना नपाएपछि स्थानीयले दबाब मूलक र्‍याली  निकालेको पत्रकार नवराज विष्टले बताए । 
IMG_20240825_083326 (1)

कुम्भ मेलामा प्रचार प्रसार समितिका लागि अनुमोदित विल, गुरु भेटी शीर्षकमा भएको खर्च र विल भरपाई, पण्डाल निर्माण गर्नेलाई दिएको भुक्तानीको विवरण माग गरिएको तर आयोजक समितिले उपलब्ध नगराएको विष्टले बताए । यस्तै स्थानीयले यातायातको खर्च, सिसी क्यामरा र कम्प्युटर खरिदको हिसाब समेत माग गरेका थिए ।  कुम्भ मेला आयोजक समितिले भने यस अघि कुम्भ मेलाको आयोजनाबाट ७९ लाख ५ हजार ८५ सय २ रुपैयाँ ८२ पैसा नाफा भएको हिसाब सार्वजनिक गरेको थियो ।
IMG_20240825_083517
मेला आयोजक समितिले पहिलो पटक कुम्भ मेलामा २ करोड २२ लाख ७० हजार ५ सय ६ रुपैयाँ ४२ पैसा सङ्कलन भएको जनाएको थियो । जसमा १ करोड ४३ लाख ६४ हजार ६ सय ५३ रुपैयाँ ६ पैसा खर्च भएको समितिले जनाएको छ । तर सो पैसा कुन कुन शीर्षकमा कति कति खर्च भयो भन्ने चाहिँ समितिले भन्न सकेको छैन । मेलामा आएका भक्तजनहरूले रसिद काटेर आर्थिक सहयोग गर्ने गरेका थिए ।
महाकुम्भ मेला मूल आयोजक समितिका सह अध्यक्ष रमेश कार्कीले हर हिसाब सार्वजनिक भएको बताए । उनले चाँडै स्मारीक समेत प्रकाशन गर्ने र कहाँ कति कति खर्च भयो भनेर स्मारिकामा पनि लेख्ने तयारी भएको बताए । उनले भने हामी भगवानका नाममा काम गरिरहेका छौ । हिसाब किताबमा कुनै समस्या छैन ।