विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फा नेशनल उमन्स लीग प्रतियोगितामा प्रथम भएमा खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।  बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगामी भदौ १६ गतेदेखि हुने राष्ट्रिय लीगमा भाग लिने  महिला फुटबल खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश विजयी भएमा खेलाडीहरूलाई जनही न्यूनतम १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरे ।  मुख्यमन्त्री कार्कीले खेलाडीहरूलाई हौसला प्रदान गर्नका लागि अन्य थप कार्यक्रम पनि ल्याइने बताए । उनले प्रदेशको खेलकुदलाई बलियो बनाउने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने तयार भइरहेको जानकारी दिए ।   मुख्यमन्त्री कार्कीले खेलकुदलाई देखाउन र चिनाउने गरी प्रदेशमा काम गर्ने जानकारी दिँदै खेलकुद परिषद्लाई बलियो बनाउने बताए ।  सबै हिसाबले प्रदेशमा खेलकुदलाई बलियो बनाउने गरी लागेको उनको दाबी छ ।   खेलबाट पनि जीवन चल्ने वातावरण बनाउने गरी काम गर्ने  मुख्यमन्त्री कार्कीको प्रतिबद्धता  छ ।