सुनसरी - इटहरी उपमहानगरमा व्यापक भ्रष्टाचार भएको भन्दै प्रतिनिधिसभामा आवाज उठेको छ । इटहरी उपमहानगरपालिकाले खरिद गरेको चार वटा विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको भन्दै प्रतिनिधिसभामा आवाज उठेको हो । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा टेन्डर आव्हान देखी योजना तर्जुमा गर्दासम्म व्यापक भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । इटहरी निवासी सांसद चौधरीले उपमहानगरले खरिद गरेको चार वटा ठुला विद्युतीय बसमा १ करोड ४० लाख रुपैयाँ घोटला भएको सरकारको ध्यानाकर्षण गराएका छन् । आपुर्तीकर्तासंग सुरु देखी नै सेटिङ गरेर तेस्रो कम्पनी खडा गरेर भ्रष्टाचार गरिएको चौधरीले आरोप लगाए ।
चौधरीले इटहरी उपमहानगरले नगर अस्पतालको लागि चाहिने सिटी स्क्यान मेसिन खरिद गर्नका लागि एक मात्र कम्पनीलाई सुनियोजित रूपमा ठेक्का पार्ने ५ करोड पर्ने मेसिन ८ करोडमा खरिद गर्ने तयारी रहेको र पछि व्यापक जनदबाब आयपछि टेन्डर रुद्ध गरिएको दाबी गरेका छन् । यस्तै चौधरीले इटहरीमै रहेको शान्ति सिर्जनमा माध्यमिक विद्यालयमा पनि जनप्रतिनिधि र कर्मचारी मिलेर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । इटहरी उपमहानगरपालिकाका कर्मचारी, प्रधानाध्यापक र जनप्रतिनिधिले ८० लाख रकम ‘घोटाला’ गरेको आरोप लगाए ।
आर्थिक वर्ष ०७९/८० मा शिक्षकको तलब शीर्षकको बजेटमा उपमहानगरले इटहरी १४ मा रहेको शान्ति सिर्जनमा माविलाई दिनुपर्नेभन्दा ८० लाख बढी रकम उपलब्ध गराएको थियो । विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने भएपनि उपमहानगरको लापरबाहीका कारण ८८ लाख २४ हजार २४३ रुपैयाँ भुक्तानी दिएको पाइएको चौधरीको दाबी छ ।