इटहरी । साथीको घर छेउमा खेल्दा भेटिएको बमलाई हतौडाले हान्दा विस्फोट भई दाजु बहिनीको मृत्यु भएको छ । पाँचथरका फालेलुंग गाउँपालिका प्राङ्वुङ्गको डाँडागाँउका दिलीप साँवाका ११ बर्सिया छोरा दिप्सन र अढाई बर्सिया छोरी प्रिन्साको विस्फोटमा परि मृत्यु भएको हो । विस्फोट हुँदा पवन राई र दिप्सन राई घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
पाँचथरको फालेलुङ्ग गाउँपालिका वडा नम्बर ५ प्राङवुङको डाडागाउँ का दिलीप साँवा वैदेशिक रोजगारीका लागि दुवैमा छन् । उनकी श्रीमती पूजा बिहीबार मेला गाइन् । छोरो दिप्सन साँवा विद्यालय गए ।
विद्यालयमा परीक्षा भएका कारण उनी छिट्टै फर्किए । घरमा सानी अढाई वर्षकी बहिनी प्रिन्सा थिइन । स्कुलबाट फर्किएपछि उनी बहिनीलाई लिएर साथी पवन राईको घर गए । पवनको घर र दिप्सनको घर भन्दा ४ मिनेटको दूरीमा पर्छ । पवनकै घरमा उनीहरूका साथी दिप्सन राई पनि भेला भए । पवनका बुबा ज्ञानबहादुर राई ज्याला मजदुरी गर्छन् । उनी काम गर्न पाँचथरको सदरमुकाम फिदिम झरेका छन् । बिहीबार केटा केटी घरमा भेला भएपछि पवनकी आमा बारीमा काम गर्न गइन् ।
खेल्ने क्रममा उनीहरूले पवनको घरको दाइने पट्टी बल जस्तो बस्तु भेट्टाए । फालेलुङ्ग गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष भरत कुमार खपाङ्गीले भने, बल जस्तो बस्तु खेलाउँदा विस्फोट भएर साँवाका छोरा छोरी कै मृत्यु भयो । पवन र दिप्सन राई घाइते भएका छन् ।
विस्फोटमा परि घाइते भएका पवन राईले खपाङ्गीलाई बताए अनुसार अनौठो वस्तु फेला पारेपछि उनीहरूले त्यसलाई फुटाउन खोजे । ढुङ्गाले हान्दा पनि नफुटेपछि उनीहरूले हतौडाले हाने । हतौडा दिप्सनले हानेका थिए । उनको छेउमै थिइन उनकी बहिनी ।
वडाध्यक्ष खपांगीले हतौडाले अनौठो बस्तुमा हान्ने दिप्सन र उनकी बहिनी प्रिन्साको मृत्यु भएको छ । पवन र दिप्सन घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
बम विस्फोट भएको घर भने आइतराज केरुङको हो । उनी माओवादीको फालेलुंग गाउँ स्तरीय नेता हुन् । माओवादीको स्थानीय गाउँ सङ्गठनमा काम गरेका आइतराज भने व्यापारका लागि फिदिम बजार आएका छन् । व्यापारका लागि आइतराज फिदिम आएपछि खाली घएको ज्ञानबहादुरको परिवार बस्दै आएको छ । ज्ञानबहादुरलाई केरुङले घर राख्न राखेको वडाध्यक्ष खापुङगीले बताए ।
द्धन्दकै बेलाको हतियार
पाँचथरको फालेलुङ्गमा विस्फोट भएको बम द्धन्दकालकै बेलामा छुटेको हुन सक्ने सुरक्षाकर्मीले अनुमान गरेकाछ । विस्फोटक भएको बम घरमै बनाइएको हो । यो मेसिन मेड होइन । प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले भने, हेर्दा पुरानो छ । खिया लागेको छ । यो पुरानो हतियार हो ।
उनले सकेटहरू प्रयोग गरेर घरमा बनाएको हतियार भएको बताए । उनले द्धन्दका बेला छुटेको हुन सक्ने बताए । बम विस्फोट भएपछि खोजतलास गर्दा सोही ठाउँमा अर्को पनि शङ्कास्पद बस्तु फला परेको दाहालले बताए । अहिले सो बस्तु डिस्पोज गर्न नेपाली सेनाको प्राबिधकी टोली पुगेको छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले पुरानो द्धन्दकालकै विस्फोटक भएको बताए । उनले भने अहिले सम्म यो नयाँ हो भन्ने पुष्टि भएको छैन ।