सुनसरी । मोरङको सुन्दरहरैँचामा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा स्थानिय नारायण न्यौपानेको केरा बगान भित्र दुई दिदिबहिनी मृत अवस्थामा फेला परेका हुन । 

मृतक नाबालिकाहरु धनकुटा निवासी ३१ बर्षीय अर्जुन कार्कीका छोरीहरु रहेको प्रहरीले जनाएको छ । ३ बर्षीया आयिका कार्की र १ बर्षीया अर्पणा कार्कीको मृत शव आज बेलुका साढे ४ बजेको समयमा फेला परेको हो । 

प्रहरीका अनुसार अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छन् । शुक्रबार साँझ अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि उनी छोरीहरुलाई लिएर राति नै हिँडेकी थिइन् । आज दुई छोरीको शव फेला परेको हो । भने आमा अझै सम्पर्कविहीन छिन् ।

बालिकाको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा पनि फेला परेको छ । दुवै नाबालिकाको औषधी सेवन गरी हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । 

बालिकाका बुवा अर्जुन भने प्रहरीको सम्पर्कमै रहेको मोरङ प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान अगाडी बढाएको मोरङ प्रहरीले बताएको छ । 

अर्जुन कार्कीको स्थायी घर धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे रहेको प्रहरीको भनाई छ । अर्जुन पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा बस्दै आएका थिए । अहिले बसोबास गर्दै गरेको ठाउँ नजिकै घर पनि बनाउँदै गरेका छन् । सोही घरमा पानी हाल्ने विषयमा अर्जुन र अस्मिता बिच विवाद भएको थियो ।