विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा मृत फेला परेका दुई नावालिकाकी आमा अझै फेला पर्न सकेकी छैनन् ।
घरमा श्रीमानसँग सामान्य झगडा परेपछि दुई छोरी लिएर हिँडेकी २९ बर्सिया अस्मिता न्यौपाने नभेटिँदा घटना रहस्यमय बनेको छ ।
धनकुटा घर भएका अर्जुन कार्कीकी श्रीमती शुक्रवार अस्मिता दुई नावालीका छोरी लिएर घरबाट हिँडेकी थिइन् ।
बन्दै गरेको घरमा पानी नहालेको विषयमा विवाद भएपछि न्यौपानेले घर छाडेकी थिइन् ।
नावालिका छोरीहरू १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की शनिवार दिउँसो मृत फेला परेका थिए ।
स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र दिदी आयिकाले बाहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको बेलबारी प्रहरीले जनाएको छ ।
आमा अस्मिता भने सम्पर्कविहीन रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिने उनले बताए ।
उनका अनुसार बालिकाको शव फेला परेको स्थाननजिकै कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको छ ।
‘बाहिरी चोटपटक देखिएको छैन । घटनास्थलमा मेटासिटको बट्टा फेला परेको छ,’ बस्नेतले भने, ‘दिदीले बहिनीलाई अँगालो मारेको अवस्थामा दुवैको शव भेटिएको हो । घटनास्थलको प्रकृति हेर्दा विष खुवाएर हत्या गरेजस्तो देखिन्छ ।’ छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सम्पर्कविहीन भएकी आमा अस्मिताले प्रयोग गर्ने मोबाइल केरा घारीमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहानैबाट न्यौपानेको खोजी कार्य भइरहेको छ । सुन्दरहरैचा आसपासको जङ्गलमा सर्च गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीले आइतबार बिहानदेखि खोजी तीव्र पारे पनि फेला पार्न नसकेका हुन् । शनिवार साँझ पनि खोजी गरिएको थियो ।
२ नवबालिका मृत फेला परेको केरा घारी र नजिकै रहेको जङ्गलमा खोजी गर्दा पनि आमालाई नभेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
धनकुटाको पख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनले नजिकै नयाँ घर पनि बनाउँदै थिए ।