इटहरी । सहिद रत्नकुमार वान्तवाको जिवनीमा आधारित पुस्तक नेपालमा सुरुङयुद्ध इटहरीमा विमोचन गरिएको छ ।

शनिबार इटहरीको संगित साधना प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सभासद् मीना श्रेष्ठलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

इलामका सहित रत्नकुमार वान्तवाको संघर्ष र बलिदानको बारेमा लेखिएको पुस्तक हो नेपालमा सुरुङयुद्ध । पुस्तक उनको जिवनमा आधारित रहेको छ । इटहरीका अर्जुनकुमार उप्रेती र धरानका जसकुमार राईले संयुक्त रुपमा पुस्तक लेखका हुन । 

पुस्तक विमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आफू पनि रत्नकुमारको प्रेरणाबाट राजनीतिमा आएको बताए । मुख्यमन्त्री कार्कीले भने, ‘म उहाँको (रत्नकुमार) मृत्युपछि पार्टीमा संगठित भएको कार्यकर्ता हुँ ।’

रत्नकुमारकै आदर्श र उनैले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा आफू जोडिइराख्ने मुख्यमन्त्री कार्कीले बताए ।

पुस्तक विमोचन पश्चात पुस्तक माथी विमर्श गरिएको थियो । पुस्तक माथि २ जना टिप्पणीकारले टिप्पणी गरेका  थिए ।  

पुस्तकमाथि टिप्पणी गर्दै डा. अस्मिता विष्टले रत्नकुमार वान्तवाले आफ्नो सम्पत्ति समेत बेचेर सुरुङ युद्ध प्रारम्भ गरेकाले त्यसबाट राजनीतिक क्रान्ति सुरु भएर गणतन्त्र उन्मुख गराएको बताइन् । 

surung book 1

अर्का टिप्पणीकार डा. दिवाकर रेग्मीले रत्नकुमारका सम्बन्धमा यसअघि वृत्तचित्र र उपन्याससमेत लेखिए पनि अहिलेको सुरुङ युद्ध तथ्यसंगत रहेको बताए।

 ‘सुरुङ युद्ध’ मा वान्तवालाई प्रेरित गर्न समाजका अरू पनि पात्र रहेको ती पात्रलाई समेटेर प्याकेजका रूपमा तयार गरिएकाले पुस्तक पढ्नैपर्ने रहेको छ’, उनले भने  ।

पुस्तकमा इलामको चित्रेबाट सुरु भएको सुरुङयुद्धको बयान गरिएको छ । रत्नकुमारले छोटो समयमै देश र जनताका लागि बलिदान दिएका थिए । 

२००८ साल चैत २७ गते इलामको चमैताको चित्रे (हाल देउमाई नगरपालिका–१) मा जन्मिएका रत्नकुमारलाई २०३५ साल चैत २७ गते तत्कालीन पञ्चायत सरकारले इभाङको जंगलमा गोली हानी हत्या गरेको पुस्तकमा उल्लेख छ ।