विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा बोल्दै भोक हडतालको चेतावनी दिए । उनले आफू पार्टीले भन्दा त नमान्ने भन्दै जनताको पक्षमा भोक हडतालमा उत्रने सम्म चेतावनी दिए । प्रदेश सभामा खरो र कडा कुरा गरिरहने कार्की यसरी भोक हडतालमा उत्रने चेतावनी पछाडिका कारण भने अरू नै भएको आरोप लाग्न थालेको छ । उनले आफू मुख्यमन्त्री हुँदा तयार गरेका गरेका आर्थिक अपचलनका सेटिङहरु भत्किन थालेपछि आक्रोशित भएको टिप्पणी हुन थालेको छ ।
उनले आफू मुख्यमन्त्री हुँदा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने कार्यक्रम ल्याए । तर उनको लोकप्रिय कार्यक्रममा सेटिंग भएको आरोप लागेको छ । उनको कार्यक्रमलाई दुरुपयोग गदै विराटनगरका केही निजी अस्पतालले फर्जी बिल पेस गरेका छन् । करोडको अङ्कमा यसरी पेस भएको बिलमा पूर्व मुख्यमन्त्रीको समेत सेटिंग हुन सक्ने कोशी प्रदेश सरकारले गरेको छ ।
फर्जी बिल पेस गरेको पाइएपछि नोबेल मेडिकल कलेजको १ करोड २८ लाख ८ हजार २ सय ९९ रुपैयाँ को भुक्तानी प्रदेश सरकारले रोकेको छ । सो कलेजले बालबालीकको उपचारको नाममा ३ करोड ७९ लाख २ सय ७४ रुपैयाँको बिल मन्त्रालयमा पेस गरेको थियो । प्रदेश सरकारले सो फर्जी बिलमा पूर्व मुख्यमन्त्रीको समेत सेटिङ भएको आशङ्का गरेको छ । यस्तै विराट मेडिकल कलेजले १ करोड ७६ लाख बिल पेस गरेकोमा ५१ लाख ११ हजार ६ सय ७५ रुपैयाँ फर्जी देखिएपछि सरकारले ५१ लाख रुपैयाँ भुक्तानी नै रोकेको छ ।
केदार कार्की मुख्यमन्त्री हुँदा उनले आफ्नो अनुकूलका नोबेल, विराट लगायतका केही अस्पताललाई कार्यविधि सहज बनाएर उपचारमा सहमति गरेका थिए । उनी मुख्यमन्त्री हुँदा रातो किताबमा ३ करोड २९ लाख रुपैयाँ १० वर्षमुनिका लक्षित वर्गका बालबालिकाहरूको उपचारको लागि बजेट विनियोजन गरिएको थियो ।
पूर्व मुख्यमन्त्री कार्कीले सदनको रोष्टममा उभिएर सरकारले सो कार्यक्रम रोकेको दाबी गरेका थिए । उनले सो कार्यक्रम रोकेमा अनशन बस्ने समेत चेतावनी दिए । प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भने सो कार्यक्रम निरन्तर रहेको बताउँदै आएको छ । प्रेस विज्ञप्ति जारी गर्दै हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आर्थिक वर्ष २०८१ ÷०८२ मा ४ करोड २९ लाख बजेट विनियोजन गरेको छ जनाएको छ ।
यस्तै बालबालिकाको उपचार गर्ने काठमाडौँ इन्स्टिच्युट अफ चिल्ड्रेन हस्पिटललाई १ करोड रुपैयाँ अनुदान दिइएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता सुरेश मेहताले हस्ताक्षर गरेको विज्ञप्तिमा अहिले पनि प्रदेशका सामुदायिक र सरकारी अस्पतालमा १० वर्ष मुनिका बालबालिकाहरूको निःशुल्क उपचार नरोकिएको उल्लेख गरिएको छ।
शैलजा आचार्य हृदय रोग केन्द्रका लागि पनि ३ करोड ४३ लाख रुपैयाँ, महिला स्वंयसेविकाहरुको लागि ४ करोड १ लाख रुपैयाँ स्वास्थ्य मन्त्रालयको बजेटमै देखिन्छ । पूर्व मुख्यमन्त्री कार्कीले सरकारलाई बदनाम गर्ने गरी भाषण गर्दै आएको आरोप उनीमाथि लाग्ने गरेको छ। यसलाई सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले तथ्य बेगरको भन्दै आएका छन् ।
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले तत्कालीन मुख्यमन्त्री केदार कार्कीको अभिव्यक्ति आफ्नो उद्देश्य पुरा नभएपछि आएको टिप्पणी गरेका छन् । ‘उहाँको केही इच्छा थियो होला पुरा भएन होला, मन्त्री अधिकारीले भने, केही इन्ट्रेस्ट फुलफिल नहुँदाको आक्रोश हुनसक्छ ।’
कोशी प्रदेश सभाको बैठकमा केदार कार्कीले केशलिया कोरिडोरको पनि कुरा उठाएका थिए । उनले आफ्नो करिब १ बिगाहा र जग्गा व्यवसायीसँगको सेटिङमा राजधानी राख्ने गरी गरेको प्रपञ्च तुहिएपछि उनी रन्थनिएको आरोप उनीमाथि आफ्नै पार्टी भित्रैबाट लाग्दै आएको छ।
२०८० मङ्सिर ८ गते उनले केशलिया खोलाको छेउमा प्रदेशको मन्त्रालयका संरचना लैजाने गरी निर्णय गराएका थिए । त्यहाँ जग्गा व्यवसायीसँग सेटिङ गरिएको आरोप उनीमाथि लाग्ने गरेको छ। तर व्यवसायी बिच नै कुरा मिल्न ढिलो भइरहँदा उनी सरकारबाटै बाहिरिनु परेको थियो । त्यहाँ उनले जग्गा व्यवसायीलाई फाइदा हुने गरी गरेको प्रपञ्च पुरा नहुने भएपछि उनी सरकार विरुद्ध लागेको आरोप सरकार पक्षको छ ।
कार्कीले उठाउँदै आएको अर्को मुद्दा सुकुम्वासीको जग्गा खरिदमा व्याज तिरिदिने हो । उनले विराटनगर १२ को एक बस्तीलाई अनुकूल हुने गरी कार्यविधि बनाएर दुई करोड रुपैयाँ बाँड्न खोजेका थिए । तत्कालीन मुख्यमन्त्री कार्कीले २ करोड बाँड्न खोजेको त्यस जग्गामा पनि जग्गा व्यवसायीले प्लटिङ गरी गरिब सुकुम्वासीलाई महँगोमा बेचेको पाइएको छ । उनले भनेको ठाउँमा मनलाग्दी गर्ने कामहरू सबै नै रोकिएपछि सरकारविरुद्ध व्यक्तिगत कुरालाई समेत जोड्ने गरेका हुन् ।
आइतवारसाँझा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमा उनी लक्षित केही विषयहरू सार्वजनिक गरेका छन् । विभिन्न चार बुँदामा मुख्यमन्त्री कार्कीले लेखेका छन्, ‘मान्छेहरू, सायद बुझेर मात्रै बोल्ने गरे भने बोली सके पछि पछुताउनु पर्दैन होला ।
मान्छेहरू , सायद आफूले बोलेको कुरा र गरेको कामको जिम्मा लिने मात्रै हो भने पनि त्यति धेरै मानसिक छटपटी हुँदैन होला भनेर मुख्यमन्त्री कार्कीले लेखेका छन् । ‘सायद धरातल सहितका मान्छेहरू कमजोर अभिव्यक्ति, कुण्ठा र आक्रोश व्यक्त गर्दैनन् होला, मुख्यमन्त्री कार्कीले लेखेका छन्, बुझेर बोल्ने , बोलेको कुरा र कामको जिम्मा लिने अनि कमजोर अभिव्यक्ति नगर्ने, कुण्ठा र आक्रोशपूर्ण अभिव्यक्ति नदिने मान्छेहरू सायद डिप्रेसनको सिकार पनि हुदैनन होला ।’