विराटनगर । मोरङ्गको सुन्दर हरैचामा मृत फेला परेका दुई नावालिका दिदी बहिनीलाई आमाले नै बिष खुवाएर हत्या भएको पुष्टी भएको छ । झापाको विर्तामोडमा फेला परेकी अस्मिता कार्कीले आफूले नै छोरीहरुलाई बिष खुवाएको प्रहरी समक्ष स्वीकार गरेकी छन् । प्रहरीसँगको बयानमा उनले आफूले छोरीहरुलाई बिष खुवाएर आफूले पनि खाएको बताएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय कोशीका  प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक भिम दाहालले अस्मिता छोरीहरुलाई बिष खुवाएको स्वीकार गरेको बताए ।

उनले भने, ‘पहिला बच्चाहरुलाइ आफूले  बिष खाएर आफूले पनि बिष खाएका देखिएको छ । कम बिष खाएकाले उनलाई भने डोज पुगेन छ। ’

दाहलले बच्चालाई बिष खुवाएर हिडेकी आमा अस्मिताले सो दिन जंगलमै  बिताएको बताए । उनका अनुसार बिषले नमरेपछि उनी बिक्षप्त भएर भौतारिदौ विर्तामोड पुगेकी थिइन् । उनको शरिरमा अझै बिषको असर रहेकाले कोशी अस्पतालमा उपचार गरिएको दाहालले बताए । 

सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की गत शनिबार दिउँसो मृत फेला परेका थिए । 

छोरीहरु मृत फेला परेपनि आमा अस्मिता न्यौपाने भेटिएकी थिइनन् । उनलाई झापाको बिर्तामोडमा फेला पारेर बुधबार बिहान विराटनगर ल्याइएको छ । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

आफ्नो निर्माणाधीन घरमा पानी लगाउने विषयमा उनका श्रीमान अर्जुन कार्कीसँग विाद भएपछि २ जना नाबालिका छोरीलाई लिएर बेपत्ता भएकी थिइन् । प्रहरीका अनुसार अस्मिता केही मानसिक समस्यामा रहेजस्तो पनि देखिन्छ ।