विराटनगर । भदौ २७ देखि ३० गतेसम्म सञ्चालन हुने कृषि एक्स्पो २०८१ को तयारी तीव्र पारिएको छ।  कृषि क्षेत्रमा प्रयोग हुने घरेलु औजारदेखि मल र बीउ छर्न प्रयोग हुने अत्याधुनिक ड्रोनसम्म प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।   नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिको आयोजनामा हुने एक्स्पोको तयारी पुरा भएको जनाइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी  कृषि एक्स्पोमा परम्परागत देखि अत्याधुनिक कृषि प्रविधिहरू प्रदर्शनीमा राखिने जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्पोमा अत्याधुनिक प्रविधिहरू र परम्परागत प्रयोग गरिने कृषि सामाग्रीहरू प्रदर्शनीमा राखिने जानकारी दिए ।
 एक्स्पोमा रहेका १३० वटा स्टलहरू रहने उनले जानकारी दिए । १०८ वटा स्टलहरू मात्र रहने भनिए पनि मागको आधारमा २२ वटा स्टल थप गर्नु परेको राउतले पत्रकार सम्मेलनमा जानकारी दिए । 
साथै किसानहरूले उत्पादन गरेका कृषि उपजलाई भण्डारण स्थल र बजारसम्म पुर्‍याउनका लागि आवश्यक पर्ने डेलिभरी भ्यान समेत प्रदर्शनीमा राखिने महासङ्घले जनाएको छ । दुई महिना पहिला देखि नै  मोरङको कटहरी गाउँपालिकामा रहेको  एकीकृत कृषि थोक बजारमा कृषि एक्स्पो आयोजना गर्ने बारेमा छलफल तथा तयारी थालेको थियो । 
कृषि क्षेत्रको व्यवसायीकरण, किसान र व्यवसायी बीचको सहकार्य, आधुनिक कृषि प्रणालीको विकासमा एक्स्पोले भूमिका खेल्ने आयोजकको दाबी छ । 
राउतले कृषि क्षेत्रको आधुनीकरणमा हालसम्म गरिएका आधुनिक आविष्कारहरूको प्रदर्शनी गर्न एक्स्पो सफल हुने दाबी गरे ।
राउतले तीनै तहका सरकारहरूले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता दिँदै आएकोले कोसी प्रदेशका १४ जिल्ला तथा १३७ पालिकाको नै सहभागिता रहने समेत दाबी गरे । 

एक्स्पोलाई व्यवस्थित र सहज बनाउन काम विभाजन गरी विभिन्न समितिहरू गठन गरिएको छ ।  एक्स्पो हुने स्थानमा ५ वटा ब्लक छुट्ट्याइएको छ । जसमा (ए) मा पशुपक्षी, (वि)मा कृषि, (सी) मा मेशिनरी (डी) मा फुड स्टल र (ई)मा गोष्ठी तथा परामर्श सेवा रहेको छ । एक्स्पोमा करिब १३० वटा स्टल रहने छन् जसमा भारतको विहार तथा कलकत्ताबाट २० वटा स्टल आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।