विराटनगर  । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो शुरु भएको छ ।विराटनगर नजिकैको एकीकृत कृषि थोक बजार परिसरमा बिहीबारदेखि चार दिने एक्स्पो सुरु भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास  मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन । 

मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो कोषेढुंगा सावित हुने बताए । उनले भने “लगानीको सुनिश्चिता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुन्छन् । प्रदेश सरकारले कोशी प्रदेशलाई कृषि हबको रुपमा विकास गर्नसमेत कार्ययोजना अघि बढाएको छ ।” कार्कीले कोशी प्रदेशमा भौगोलिक अवस्थितिअनुसार कृषि क्षेत्रको विकासका लागि सरकारले काम गरिरहेको बताए । किसानका लागि बैंक ब्याजमा अनुदान, यान्त्रीकरणमा सहयोग र कृषि उद्योग संचालनमा सहयोग गरिरहेको सुनाए ।

संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिको व्यावसासायीकरणका लागि रणनीतिक महत्वका साथ अघि बढ्नु पर्ने बताए । “सरकारले लगानी दशक र कृषि दशकलाई एकसाथ अघि बढाई निजीक्षेत्रलाई कृषि उद्यममा जोड्न काम गरिहेको छ,”उनले भने,“कृषिमा निजी क्षेत्रको उचित लगानी हुन नसक्दा आधुनिक ढंगको कृषि प्रणालीको विकास हुन सकेको छैन । सरकार निजीक्षेत्रसँग मिलेर काम गर्न तयार छ ।” उनले सातवटै प्रदेश र सबै स्थानीय तहमा लगानी क्षेत्र पहिचान गरी बजेट पठाउने काम भएको बताए । दूग्धजन्य पदार्थको उत्पादन तथा बजारीकरणका निम्ति विविधीकरण गर्न आवश्य रहेको सुनाए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै किसान र उद्यमीलाई एउटै मन्चमा ल्याउने उद्देश्यसाथ एक्सपो आयोजना गरिएको बताए । उनले भने,“कृषिको विकाससँगै आयातमुखी अवस्थालाई परिवर्तन गर्दै निर्यातजन्य कृषि उपजको उत्पादनमा टेवा दिनु हाम्रो उद्देश्य हो ।” राउतले किसान, उद्यमी, लगानीकर्तासहितको उपस्थिति रहेको एक्स्पो देशमै उदाहरणीय भएको सुनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कृषिमा निजी क्षेत्रको प्रवेश र लगानी सुनिश्चिताको काम हुन सके नेपालले चाँडै यस क्षेत्रमा फड्को मार्ने बताए । हरेक वर्ष हुने कृषिजन्य र खाद्यान्न बस्तुको बढ्दो आयात चिन्ताको विषय भएको बताए । महासंघीकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले भौगोलिक अवस्थिति र विविधतायुक्त हावापानीका कारण नेपालले कृषि क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने बताइन । उनले भनिन्,“कोसी प्रदेश त कषिका लागि अझ धेरै उर्वर भूमि हो ।” कार्यक्रममा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठलगायतले सार्वजनिक र निजी क्षेत्रबीचको समन्वयमा सरकारको बलियो सहभागितामा कृषिक्षेत्रले उन्नति गर्न सक्ने बताइन । परियोजनाले विगत चार वर्षदेखि कोशी प्रदेशका काम गरिरहेको उनको भनाइ थियो ।

आइतबारसम्म चल्ने कृषि एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० वटा स्टल रहेका छन् । जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारको दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काँकरा र किबीको जुस लगायतका कृषि सामग्री बिक्री भइरहेका छन् ।

नेपाल र भारतका १५ जना कृषि विज्ञहरू कृषि एक्स्पोमा सहभागिता जनाएका छन् । र उनीहरु कृषि उत्पादनका बारेमा किसानसँग संवाद र छलफल गर्नेछन् । नेपाल उद्योग वाणिज्य कोशीले हरेक वर्ष कृषि एक्स्पोलाई निरन्तरता दिने घोषणा जनाएको छ ।