विराटनगर । कोशी सरकारमा झण्डै २ महिना पछि नेपाली काँग्रेस सहभागी भएको छ। नेपाली काँग्रेसका ४ जना मन्त्री नियुक्त भएका हुन् । एक जना राज्य मन्त्री सहित ३ जनाले शपथ लिएका हुन् । नव नियुक्त मन्त्रीहरूलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराए ।
योसँगै हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्रालय बाहेक अन्य मन्त्रालयले पूर्णता पाएको छ । नेपाली काङ्ग्रेसबाट नव नियुक्त मन्त्रीहरूमा खोटाङका भूपेन्द्र राईको नेतृत्वमा १ राज्यमन्त्री र ३ जना मन्त्री पठाएको हो । राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।
नयाँ मन्त्रीमा सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री र ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशी नियुक्त भएका छन् । आन्तरिक विवादका कारण काँग्रेसले मन्त्री छान्न नसक्दा कोशी प्रदेशमा लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । नेपाली काँग्रेसको कोटामा रहेको स्वास्थ्य मन्त्रालयमा भने अझै मन्त्री नियुक्त हुन सकेको छैन । नेपाली काँग्रेस भित्र कुरा नमिल्दा यो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारीमा राखिएको छ।