विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सम्पन्न भएको छ । विराटनगरमा रहेको सहकारीले निर्वाचन सहितको २६औँ साधारण सभा शनिवार सम्पन्न गरेको हो । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष  लेखनाथ कोइरालाको प्रमुख आतिथ्यमा भएको साधारण सभामा नव निर्वाचित कार्यसमिति समेत चयन गरिएको छ ।
संस्थाका अध्यक्ष जीवन काफ्लेको अध्यक्षतामा भएको उक्त साधारण सभामा विगत आ.व.मा सम्पन्न भएका कार्यक्रमहरू र प्रगतिको जानकारी गराइएको थियो ।  आगामी वर्षको लक्ष्य तथा कार्य योजना सहितको प्रतिवेदन अध्यक्ष काफ्लेले प्रस्तुत गरे ।  
प्रतिवेदनमा सहकारीले ४९ करोड ६८ लाख ९३ हजार ६३६ रुपैयाँ ५७ पैसाको कारोबार गरेको छ । सहकारीको शेयर रकम ६ करोड ६९ लाख ४२ हजार ८ सय रुपैयाँ रहेको छ भने बचत ३४ करोड ९४ लाख ६८ हजार ३७० रुपैयाँ ९४ पैसा रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ।   
सहकारीको जगेडा कोषमा १ करोड ९१ लाख ५५ हजार १५९ रुपैयाँ ८ पैसा पुगेको छ भने सहकारीको कुल कोष ४ करोड ८७लाख ८९ हजार ०१८ रुपैयाँ ४२ पैसा रहेको छ । सहकारीले ४ करोड ८२ लाख ०४ हजार ५८६ रुपैयाँ ५६ पैसा आम्दानी गरेकोमा ४ करोड १८ लाख ५२ हजार ७४१ रुपैयाँ ९३ पैसा खर्च गरेर ६३ लाख ५१ हजार ८४४ रुपैयाँ ६३ पैसा खुद नाफा कमाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।  सहकारीमा १८४७ जना शेयर सदस्य रहेका छन् ।
WhatsApp Image 2024-09-14 at 19.55.58
कार्यक्रममा सहभागी कोशी प्रदेश सभाका सचिव  गोपाल प्रसाद पराजुली¸ मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी  प्रेम प्रसाद भट्टराई¸ राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारीलाई वार्षिक साधारण सभाको शुभकामना दिएका थिए ।
कार्यक्रममा किशोरी खतिवडा स्मृति पुरस्कार अक्षयकोषबाट साहित्यकार भवानी खतिवडालाई पुरस्कार सहित सम्मान गरिएको छ ।  संस्थाका पूर्व अध्यक्ष स्व. दधिराम दाहाल स्मृति अक्षयकोषबाट कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलाई प्रदान गरिने घोषणा भएको छ । उत्कृष्ट अङ्क ल्याई  प्लस टु उत्तीर्ण गर्ने विज्ञान र अन्य संकायका  ३ जना शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको छ।  विद्यावारिधि गर्ने १¸ स्नातकोत्तर उपाधि हासिल गर्ने १३ जना र स्नातक उपाधि हासिल गर्ने  ८ जना शेयर सदस्य तथा शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको अध्यक्ष काफ्लेले बताए ।   स्व. डमरुबल्लभ वसन्तकुमारी चापागाईँ स्मृति पुरस्कार¸ ईश्वरीप्रसाद पोखरेलद्वारा स्थापित मायादेवी हरिमाया न्यौपाने स्मृति पुरस्कार र गणेश चेतन राई स्मृति पुरस्कारबाट आ.व.०७९/८० सालको एस.इ.इ. परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सदस्यका सन्तति मध्येबाट ७ जनालाई पुरस्कृत गरिएको उनले बताए । 
WhatsApp Image 2024-09-14 at 19.57.09 1
अध्यक्षमा पुनः काफ्ले
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षमा पुनः जीवन काफ्ले सर्वसम्मत चयन भएका छन् । संस्थाले ११ सदस्यीय नयाँ कार्यसमिति र तीन सदस्यीय लेखा समिति  चयन गरेको हो । 
संस्थाको उपाध्यक्षमा तुलसी नारायण अधिकारी¸ सचिवमा ओमराज सुवेदी, कोषाध्यक्षमा फणीन्द्र अधिकारी र सञ्चालक सदस्यहरूमा तुलसीप्रसाद खतिवडा, प्रदीपकुमार पाण्डे, कमला दाहाल, रोहित पौडेल, जय प्रसाद काफ्ले, केदार प्रसाद चौधरी र यादवदेवी सुवेदी सर्व सम्मत चयन भएका छन् । 
सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा अन्तिम कुमार आचार्य र सदस्यहरूमा चोमेशकुमार पोखरेल र रोशनकुमार पोखरेल  चयन भएका हुन । नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको रहनेछ ।