सुनसरी । सहकारीको अम्बे कोसी बचत तथा ऋण सहकारीको रकम अपचलन गरी फरार सूचिमा रहेका व्यक्ति राजनीतिक पहुँचका भरमा खुलेआम सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । नेपाली काँग्रेस सुनसरीका नेता तथा महाधिवेशन प्रतिनिधि रेवतिरमण दुलाल उक्त सहकारी रकम अपचलन मुद्दाका फरार सूचिमा छन् । राजनीतिक पहुँचका भरमा दुलाल खुलेआम सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेका छन् । उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नं ४ क बाट निर्वाचनमा सहभागी भएका थिए । काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की निकट मानिएका दुलाल त्यस बेला नेकपा एमालेका जगदीश प्रसाद कुसियतसँग पराजित भएका थिए ।  
     सुनसरीको महेन्द्रनगर घर भई इटहरी उपमहानगर ६ बस्ने ५० वर्षीय दुलालले एक करोड ३१ लाख ३२ हजार पाँच सय रुपैयाँ बिना धितो ऋण लिएका थिए । सहकारीमा उनले पाँच लाख ४१ हजार ३० रुपैयाँ व्याज बुझाउनुपर्ने देखिएको छ । सहकारीमा उनको १० हजार १४ रुपैयाँ बचत रहेको प्रहरीले दायर गरेको मुद्दामा उल्लेख छ । उक्त सहकारीमा दुलालको दुई लाख ५६ हजार आठ सय रुपैयाँ बराबरको शेयर रहेको अभियोग पत्रमा उल्लेख छ । दुलाल अहिले पनि सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेका छन् । मङ्गलवार उनी काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसँग सुनसरीको एक कार्यक्रममा सहभागी भएका थिए ।
rewati
                                                                      फरार आरोपी रेवतीरमण दुलाल    
 राजनीतिक पहुँचकै आधारमा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सहकारी अभियानकर्मी समेत रहेकी अमृता सुब्बाले पाँच लाख धरौटी बुझाएर छुटेकी छन् । प्रहरीले नियन्त्रणमा नलिईकन उनी सिधै अदालतमा हाजिर भएर ५ लाख रुपैयाँ धरौटीमा छुटेको जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले जानकारी दिएको छ । सुब्बाको नाम विष्णुमाया भन्ने अमृता सुब्बा भनी उल्लेख छ । उनै सुब्बा राष्ट्रिय सहकारी महासङ्घ तथा राष्ट्रिय सहकारी बैङ्ककी सञ्चालक सदस्य पनि हुन । उनी इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाको पूर्व अध्यक्ष समेत हुन । मोरङको सुन्दरहरैँचा स्थायी घर भई इटहरी ४ बस्ने विष्णुमाया भन्ने सुब्बाले उक्त सहकारीबाट २१ लाख ५५ हजार रुपैयाँ बिना धितो ऋण लिएको देखिएको छ । उक्त सहकारीमा उनले तीन लाख ८२ हजार २ सय २९ रुपैयाँ व्याज र पाँच हजार चार सय १० रुपैयाँ बचत रहेको छ । सो सहकारीमा सुब्बाको नाममा ८३ हजार पाँच सय रुपैयाँ बराबरको शेयर रहेको छ । 
     सहकारीका सञ्चालकहरू राहुल अग्रवाल १० लाख, कुमार आले र शिलादेवी गजमेर पाँच लाख धरौटी बुझाएर छुटेका छन् ।  सागर राई १५ लाख, टेकबहादुर चर्मकार तीन लाख, विमला चौधरी मैनाली एक लाख, सुजन चौधरी दुई लाख र सागर चौधरी सात लाख धरौटी बुझाएर छुटेका छन् । यस्तै आशिका राई दुई लाख, कृष्ण बहादुर कटुवाल तीन लाख ५० हजार, तारामान सिरिङ लिम्बु दुई लाख र चन्द्रकुमार गेलाल एक लाख धरौटी बुझाएर छुटेका छन् । यसै गरी तारा राई एक लाख ६५ हजार, भूमिप्रसाद आचार्य एक लाख, खड्ग कोइराला पाँच लाख, शम्भु दाहाल एक लाख ९५ हजार, चूडामणि निरौला एक लाख ७० हजार र भुवन कुमार राउतले एक लाख ५० हजार धरौटी बुझाएका छन् । 
subba
                                         पांच लाख धरौटीमा छुटेकी बिष्णुमाया भनिने अमृता सुब्बा 
इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोसी बचत तथा ऋण सहकारीको ४७ करोड ७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँ रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले दुलाल सहित ५६ जना विरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सहकारकिा अध्यक्ष फडिन्द्र मगर पुर्पक्षका लागि कारागार चलान भैसकेका छन् भने दुलाल सहित आधा भन्दा बढी व्यक्तिहरू अझै फरार छन् । फरार रहेका आरोपीहरूमा नेपाली काँग्रेसका नेता दुलालसँगै, देवेन्द्र बस्नेत, मीनकुमार मगर, भोजकुमार पुलामी मगर, किरण आले, हिरा कुमारी मगर, बद्री प्रसाद रेग्मी, नगेन्द्र गुरुङ र सुमन भण्डारी रहेका छन् । यस्तै, अमित राई, लीला खड्का, अशोक राई, एकराज पहाडी, धनबहादुर मगर,धनुषा पराजुली(बस्नेत) भन्ने धन कुमारी पराजुली, दीपेश राई, क्षितिज राई र कोरवर्ट कुमार श्रेष्ठ फरार रहेका छन् । यसै गरी, सम्झना कार्की, रमेश पौडेल, टिकाराम भट्टराई, हरि बहादुर खड्का, मनोज अधिकारी, नवीन पौडेल, राम प्रवेश शाह, यशोदा पौडेल रुद्र बहादुर पौडेल, पशुपति श्रेष्ठ,पूर्णबन्धु न्यौपाने, शान्ता पौडेल,हेमु श्रेष्ठ, गंगाचरण शाह तेली, सुनिता समाल मगर, विष्णु कुमार वि.क र लीला कार्की पनि फरार रहेका छन् । उनीहरू ९ महिना देखी फरार रहेका छन् । 
    उनीहरू विरुद्ध सुनसरी प्रहरीले गत पुस १२ गते मुद्दा दर्ता गरेको थियो । फरार सूचिमा रहेका व्यक्तिहरूलाई पक्राउ गर्न खोजी तीव्र पारेको सुनसरी प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक विपिन रेग्मीको भनाई छ । यसअघि सञ्चालकहरू पक्राउ पर्नुअघि सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै बचतकर्ताहरू दुई महिना देखी आन्दोलित बनेका थिए । उनीहरूले इनरुवास्थित प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय र सहकारीका सञ्चालकहरूको घर घेराउ समेत गरेका थिए । पाँच हजार बढी सेवाग्राहीहरू रहेको सहकारीमा ३ सय सेयर सदस्य रहेका छन् । सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्र समेत राखेर कारोबार गर्दै आएको थियो ।