सुनसरी । प्रहरीले इटहरी स्थित यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालयबाट १५ जना बिचौलिया नियन्त्रणमा लिएको छ । सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली डाक्टर सहित १५ जनालाई सेवाग्राही ठगेको आरोपमा बुधवार दिउसो नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ घर भई इटहरी-१३ शान्ति चौक बस्ने २४ वर्षीया सकुन राई, इटहरी-१२ खनार बस्ने २४ वर्षीया मनिका गिरी, इटहरी-९ बस्ने २५ वर्षीय सन्दिप श्रेष्ठ, सप्तरी राजगढ-४ घर भई हाल इटहरी-९ बस्ने ४४ वर्षीय प्रशान्त शाह, उदयपुर गाईघाट घर भई इटहरी-२ बस्ने १९ वर्षीय महेश राई, इटहरी-४ का ३४ वर्षीय देवेन्द्र बस्नेत, मोरङको बुढीगंगा-२ टंकीसिनुवारी बस्ने ३२ वर्षीय शुसिल शाह रहेका छन् ।

उदयपुर नगरपालिका-३ का २३ वर्षीय संयोग राई, इटहरी-१ का ३७ वर्षीय प्रगति खतिवडा, सुनसरीको रामधुनी-१ बस्ने ३८ वर्षीय किरणकुमार चौधरी, मोरङको रंगेली-९ का ३३ वर्षीय दुर्गाप्रसाद भट्टराई, इटहरी-४ का ३९ वर्षीय मोहन बास्तोला, १९ वर्षीय सफल राई, इटहरी-५ का १९ वर्षीय अजित खवत्तरी र भोजपुर घर भई इटहरी-२० बस्ने युवराज तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीलाई दुःख दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता वेदराज फुयाँलले जानकारी दिए ।

सेवाग्राहीको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुनसरी प्रहरीले अनुगमन समेत गरिएको थियो । कार्यालयमा बिचौलियाको बिगबिगी हुँदा सर्वसाधारणले सहज सेवा पाउन नसकिरहेको गुनासो बढेको प्रशासनले जनाएको छ ।