कष्ण बहाव

सुनसरी  । बेसिन क्षेत्रमा अत्यधिक वर्षा भएको भन्दै भारतको बिहार राज्यको जल संशाधन विभागले पूर्व चेतावनी जारी गरेको छ । निरन्तरको वर्षाले कोशी नदी क्षेत्रमा सात लाख क्युसेक प्रतिसेकेन्डसम्म पानी पुग्न सक्ने चेतावनी जारी गरेको हो ।

बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिबार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको हो । यदि विभागले जारी गरे अनुरुपकै स्थितिको जलसतह पुगेमा त्यसले नसोचेको ठूलो क्षति निम्त्याउने बिहारका कोशी अध्येता तथा इन्जिनियर राहुल यादुका बताउँछन् ।

यादुकाले भनेजस्तै जलसतह बढ्दा त्यसको सोझो प्रभाव नेपाली भूभागमा समेत पर्छ । मुख्यतः चतरा पुलदेखि कोशी व्यारेजसम्मको करिब ५० किलोमिटर नदी बेसिनमा ठूलो जोखिम निम्त्याउन सक्छ । बिहारले आफ्ना जिल्ला प्रशासनहरूलाई पनि सतर्क रहन र आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिएको छ । विशेषगरी, तटबन्धनजिक बसोबास गर्ने नागरिकहरूलाई सूचित गर्न र उचित कदम चाल्न भनिएको छ । साथै, बाढी प्रभावित क्षेत्रहरूमा नियमित गस्ती गर्न पनि निर्देशन दिइएको छ ।

जोखिमको पूर्वानुमान गर्दै 'कोशी प्रोजेक्ट' सँगै जल संशाधन विभागमा कार्यरत सबै कर्मचारीको बिदा रद्द गरेर काममा फर्काइएको छ । पूर्व चेतावनी विज्ञप्तिमा भनिएको छ, 'निरीक्षणका लागि अतिरिक्त अभियन्ता (इन्जिनियर) हरूको खटनपटन पनि गरिएको छ । विभागअन्तर्गतका सबै अधिकारीहरूको बिदा अर्को आदेश नभएसम्मका लागि रद्द गरिएको छ ।' शनिबार बिहान ५ बजेसम्म कोशी नदीमा ३ लाख १४ हजार क्युसेकको जलप्रवाह भएको छ ।

कोशीसँगै अत्यधिक वर्षाका कारण आगामी ४८ घण्टाभित्र गण्डकी र महानन्दा (महाकाली) नदीमा समेत अप्रत्याशित जलप्रवाह हुने सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ । विशेषगरी, शनिबार राति १२ बजे वाल्मिकीनगरस्थित गण्डक ब्यारेजबाट ६ लाख क्युसेक जनप्रवाह हुन सक्ने अनुमान छ ।