विराटनगर । धनकुटामा पहिराेमा परी आमा छाेरीकाे मृत्यु  भएको छ । धनकुटाको पाख्रीवास नगरपालिका-५ गुराँसे देवीथानमा आज बिहान पहिरोले घर पुर्दा  आमा-छोरीको मृत्यु भएको हाे । वर्षासँगै बिहान करिब ३ बजे घर माथिबाट खसेको पहिरोले स्थानीय सन्तोष तामाङको घर पुरेकाे प्रहरीले जनाएको छ । 

पहिरोमा पुरिएर सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

राती घरमाथिबाट पहिरो झर्न थालेपछी सामान निकाल्न जाँदा घरसहित आमा-छोरीलाई नै पहिरोले पुरेर बेपत्ता बनाएको हाे ।

प्रहरी र स्थानीयवासीले जेसीवीको सहयोगमा पहिरो पन्छाउँदा आमा-छोरीको शव फेला परेको छ। उनीहरूसँगै सामान निकाल्न सघाउने क्रममा पहिरोमा परेर छिमेकी २४ वर्षीया मिनामाया तामाङ घाइते भएकी छन् । गर्भवती अवस्थामा रहेकी उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको छ ।