विराटनगर । धनकुटा र पाँचथरमा बाढी र पहिरोमा पुरिएर आज ६ जनाको मृत्यु भएको छ । अविरल रूपमा परेको पानीका कारण पहिराले किचेर ४ जना भन्दा बढी बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पाँचथरको फिदिम नगरपालिकामा पहिरोले पुरिएर आमा छोरीको मृत्यु भएको छ ।
पाँचथर फिदिम नगरपालिका – ४ चिसापानीमा रहेको आदिवासी जनजातिको भवन गए राति पहिरोले पुरिँदा २४ वर्षीय सपना शेर्पा र ५ वर्षीय डोल्मा शेर्पाको मृत्यु भएको ।उनीहरूको शव निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले अविरल वर्षाका कारण बेपत्ताहरूको खोजी र उद्धारमा समस्या भएको बताए । उनका अनुसार अहिले पनि पाँचथरमा पानी परिरहेको छ । पानीका कारण उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी पुग्न समस्या भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी कोइरालाले फालेलुङ गाउँपालिका ५, तारे खोलाको बाढीले निगुरे चोककी ३६ वर्षीय कमला राईलाई बाढीले बगाएर बेपत्ता बनाएको जानकारी दिए । यस्तै बाढीले फालेलुङ ६ र फालेलुङ ५ जोड्ने पक्की पुलसमेत बगाएको ।
फिदिम नपा १ साब्राङस्थितमा फेमे खोला पहिरोमा परी ४ जना हराइरहेको । पहिरोमा परेर सोही ठाँएका ५० को गोपी विश्वकर्माको शव भेटिएको छ । अन्यको खोजी कार्य भइरहेको कोइरालाले बताए । धनकुटाको पाख्री बास नगरपालिका– ५ आज बिहानको पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीय रामकुमारी तामाङ र ३२ वर्षीय आशा तामाङको मृत्यु भएको हो । उनीहरू आमा छोरी रहेको प्रहरीले जनाएको छ ।