सुनसरी । आइतबार बिहान उच्च विन्दुमा पुगेको कोशीको पानी अहिले भने घट्न थालेको छ । पानी पर्न रोकिएसँगै विस्तारै पानीको बहाव पनि घट्न थालेको हो । 

आज(आइतबार) बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमको अपडेटअनुसार ६ लाख ६१ हजार ५ क्युसेक पानी मापन गरिएको थियो । यो बेला सम्म पानी बढ्ने क्रममै थियो । 

तर  ६ बजेपछि भने कोसीमा पानी घट्न थालेको देखिन्छ । क्रमशः बिहान ७ बजे ६ लाख ५५ हजार ५ क्युसेक र ८ बजे ६ लाख ४३ हजार ६७५ क्युसेक रहेको छ । पछिल्लो अपडेट अनुसार कोशीमा ६ लाख २८ हजार एक सय क्युसेक पानी रहेको छ । 

माथिल्लो तटीय क्षेत्रमा वर्षा रोकिएकाले कोसीमा पानीको सतह घट्न थालेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

कटानको जोखिम 

५६ बर्षयताकै उच्च विन्दुमा पुगेको कोशीको पानी घट्न थालेको छ । तर पानी घट्न थालेको समयमा कटानको जोखिम भने उच्च हुने गर्छ । 

पानीको सहत क्रमश घट्दै जाँदा कमजोर भएका स्थानमा कटान हुने गर्छ ।  

बराहक्षेत्रका पत्रकार बाबुराम कार्कीका अनुसार पानी घट्दै जाँदा कमजोर स्थानमा कटान हुने उच्च जोखिम हुन्छ । 

विशेष गरी बाँधहरुमा पानी सिपेज हुँदा उच्च जोखिम हुने पत्रकार कार्की बताउँछन् । तर अहिले सम्म त्यस्तो नदेखिएको उनले बताए ।  

पानी घटे पनि जोखिम भने कायमै रहेको बराहक्षेत्रका अर्का पत्रकार कृष्ण बहाव बताउँछन् । उनले भने, ‘पानी घट्न थालेको छ । तर पानी घटदै जाँदा कुन धार लिएर बग्छ भन्ने मुख्य कुरा हुन्छ । अहिले सम्म बिच धारबाटै बगेकाले जोखिम छैन तर पानी घटदै जाँदा धार बदलिन सक्छ ।’

कोशीले धार बदल्दै पूर्व या पश्चिम कटान गरे जोखिम हुने उनले बताए ।  

यस अघि पनि कोशीले धार बदल्दा ठुलो क्षति भएको थियो । २०६५ साल भदौ २ गते कोशीले धार बदलेर पूर्वी तटबन्ध कटान गर्दा कुसाहमा तटबन्ध भत्कीएको थियो । त्यस बेला कोशीमा केबल १ लाख ६८ हजार क्युसेक पानी बगेको थियो । 

त्यसैले पानी घट्दै गएको यो समय कोशी किनारका लागि अझै उच्च जोखिमकै समय रहने गर्दछ ।