सुनसरी । कोशी नदिमा पानीको बाहाब घट्दै गएपछि ब्यारेजमा सवारी आवागमन सुरुचारु भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले पानीको बहाव कम भएकाले कोशी ब्यारेजमा आवागमन सुचारु गरेको जानकारी दिएको छ ।
आज साँझ ५ बजेबाट आवागमन सुचारु गरेको प्रशासनले जानकारी दिएको छ ।
कोशीमा पानीको बहाव अत्यधिक भएर खतराको संकेत समेत पार गरेकाले प्रशासनले ब्यारेज क्षेत्रमा अवागमन रोक लगाएको थियो । शनिबार साँझ ४ बजेबाट ब्यारेजमा आवागमनमा रोक लगाइएको थियो ।
निरन्तर पानीको बहाव घट्दै गएपछि आवागमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
घट्दै पानीको बहाब
आइतबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमको अपडेटअनुसार ६ लाख ६१ हजार ५ क्युसेक पानी मापन गरिएको थियो । यो मापन ५६ बर्षयताकै उच्च विन्दुमा पुगेको हो ।
तर माथिल्लो तटीय क्षेत्रमा वर्षा रोकिएकाले कोशीमा पानीको सतह घट्न थालेको हो ।
क्रमशः बिहान ७ बजे ६ लाख ५५ हजार ५ क्युसेक र ८ बजे ६ लाख ४३ हजार ६७५ क्युसेक रहेको छ । बिहान ९ बजे ६ लाख २८ हजार एक सय क्युसेक पानी रहेको थियो ।
दिउँसो पनि पानी निरन्तर घट्दै गएको थियो । साँझ ४ बजेको मापन अनुसार कोशीमा ३ लाख ५० हजार तीन सय ७० क्युसेक पानी रहेको छ ।
ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् । ब्यारेजमा अहिले पनि खतराको संकेत स्वरुप रातो झण्डा राखिएको छ ।