काठमाण्डौं । पहिरोका कारण बाटोमा अलपत्र परेका मजदुरको उद्धार गर्न नेपाल स्वतन्त्र यातायात मजदुर सङ्गठनले माग गरेको छ ।
काभ्रे जिल्लाको नार्के, कालढुङ्गा, आपटारी लगायतका स्थानहरूमा अलपत्र परेका यातायात मजदुरहरू र यात्रुहरूको तत्काल उद्धारको व्यवस्था गर्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सरकारसँग माग गरेको हो ।
सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले आइतबार विज्ञप्ति जारी गर्दै शुक्रवारदेखि फसेका चालक, सहचालक, परिचालक तथा यात्रुहरू आइतबारसम्म पनि भोक भोकै बस्नु परेकाले तत्काल उद्धार तथा खाद्यान्नको व्यवस्था गर्न माग गरेका छन् । अध्यक्ष राईका अनुसार क्षेत्रमा करिव ३० वटा बस, करिब २ सय ५० वटा माइक्रो बस करिब २२ को सङ्ख्यामा विङ्गर भ्यान, करिब १ सय ५० वटा विद्युतीय भ्यान, करिब ४० वटाको सङ्ख्यामा सुमो जिप गरी ५ सय वटा सवारीसाधन अलपत्र परेको छन् ।
पहिरोका कारण त्यसमा कार्यरत करिब ६ सय चालक, सहचालक, परिचालकहरू अलपत्र परेको सङ्गठनले जनाएको छ ।
बाढी र पहिरोका कारण अलपत्र परेका धेरै यात्रुहरू हिँडेर गन्तव्य स्थल तर्फ लागेको भए पनि बृद्धबृद्धा, केटाकेटी तथा महिलाहरू अझै बाटोमा अलपत्र परेको राईले विज्ञप्तिमा उल्लेख गरेका छन् । सङठनले उनीहरूको तत्काल उद्धार तथा उद्धार नभएसम्म खाद्यान्नको व्यवस्था गर्न अपिल गरेको छ ।
बिहीबार रातीदेखि शनिवार साँझसम्म लगातार परेको वर्षाका कारण देशै भरी क्षति पु¥याएको र ठुलो मात्रामा जनधनको क्षति भए पनि सरकारले पर्याप्त तयारी र उद्धार नगरेकोमा सङ्गठनले आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, दर्जनौँ नागरिकहरू बेपत्ता रहेको, झ्याप्ले खोलामा पुरिएका सवारी साधनहरू र त्यहाँ पुरिएका मजदुर सहित नागरिकको तत्काल र प्रभावकारी उद्धार गर्न सङ्गठनले सरकारसँग अपिल गर्दछौ ।
सङ्गठनले बाढी पहिरोमा परेर मृत्यु भएका मजदुरको पहिचान गर्दै आश्रित परिवारलाई तत्काल राहतको घोषणा र घाइतेहरूको तत्काल उपचारका लागि सरकारसँग माग गरेको ।