सुनसरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । महाखाशाका अनुसार आज दिउँसो अन्य प्रदेशका केही ठाउँमा आंशिक बदली भए पनि धेरै ठाउँमा मौसम सफा रहनेछ ।

कोशी, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बिहान ६ बजेको बुलेटिनमा उल्लेख छ ।

अहिले भने कोशी र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।