विराटनगर । कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेश भरी विस्तार गर्न आवश्यक छलफल सुरु गरेको छ । 
स्वास्थ्य मन्त्री समेत रहेका  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विराटनगर आँखा अस्पताल, नेपाल नेत्र ज्योति सङ्घ, मन्त्रालयका सचिवसहितका सरोकारवालाहरूसँग आँखा रोगको उपचारलाई प्रभावकारी बनाउने बारे छलफल गरे  ।  कोशी प्रदेशमा स्मार्ट भिजन ग्लासको प्रयोगलाई नमुनाको रूपमा कसरी लैजान सकिन्छ र प्रदेशका दुर्गम जिल्लाहरूमा आँखा उपचार सेवा पुर्‍याउनका लागि काम गर्ने गरी छलफल भएको थियो । गायिका मेनुका पौडेलले प्रयोग गरेको स्मार्ट भिजन ग्लास प्रदेशका दृष्टि विहीनहरूलाई प्रयोग गर्ने गरी नमुना कार्यक्रम सुरु गर्ने विषयमा छलफल भयो । मोबाइल सहित करिब १ लाख रुपैयाँ पर्ने यो स्मार्ट भिजन ग्लास प्रयोगले दृष्टि विहीनहरूको जीवन सहज बनाउन र उनीहरूलाई काम गर्न समेत सहयोग पुग्ने दाबी गरिएको छ । तिहार अघि नै तीन जना प्रदेश दृष्टिविहिनहरुलाई यसको प्रयोग गर्ने गरी विराटनगर आँखा अस्पतालले तयारी सुरु गरेको छ । यसमा प्रदेश सरकारले पनि सहयोग गर्ने मुख्यमन्त्री कार्कीले बताए ।   कोशी प्रदेशमा करिब ४ हजार ४ सय जना दृष्टिविहीन नागरिक छन् । आँखाका बिरामीहरूको सङ्ख्या भने ठुलो रहेको छ । सो अवसरमा यातायात चालकहरूको आँखा जाँचको बारेमा पनि  छलफल भएको थियो । मुख्यमन्त्री कार्कीले आँखा उपचारका कार्यक्रमलाई आगामी वर्ष प्रदेश सरकारले  बजेटमा समेट्ने गरी तयारी गर्ने जानकारी दिए ।  छलफलमा नेत्र ज्योति सङ्घ प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी, स्वास्थ्य सचिव डा. राधिका थपलियालगायतको सहभागिता थिए ।