इटहरी । इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई एकीकृत गर्ने उद्देश्यले वृहत् भेला आयोजना गरिने भएको छ । 
जनता बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई क्याम्पससँग जोड्न पहिलो पटक यस्तो भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको हो । 
हिन्दुहरूको महान् पर्व बडा दसैँको अवसर पारेर जनता बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजले वृहत् भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । 
असोज २२ गते क्याम्पसको सभा हलमा शुभकामना साटासाट गर्दै क्याम्पसको शैक्षिक उन्नयन तथा गुणस्तर विकासका बारेमा छलफल गरिने भएको हो । 
जनता क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरूलाई पुनः एक पटक क्याम्पससँग आत्मीय मिलाप गराउन लागि भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको जनता बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजका अध्यक्ष मिलन त्रितालले जानकारी दिए  ।
अध्यक्ष त्रितालले भने, ‘बडा दसैँ मनाउन आफ्नो कर्म क्षेत्रबाट गाउँघर फर्किएको साथै चाडपर्वको समयमा सबैसँग भेटघाट पनि हुने र क्याम्पसको शैक्षिक विकासका विषयमा ज्ञान आदान प्रदान पनि हुने भएकाले यो समयमा कार्यक्रम राखिएको हो । ’
पूर्व विद्यार्थी समाजले कार्यक्रममा बढी भन्दा बढी पूर्व विद्यार्थीहलाई उपस्थित गराउन सामाजिक सञ्जाल मार्फत प्रचार प्रसारलाई तीव्र बनाएको छ ।
यता,जनता क्याम्पस प्रशासन तथा सञ्चालक समिति पनि कार्यक्रमलाई लिएर उत्साहित बनेको छ । 
पूर्व विद्यार्थीहरूलाई स्वागत गर्न जनता बहुमुखी क्याम्पस तयार रहेको क्याम्पसकी क्याम्पस प्रमुख डा.गीता अधिकारीले जानकारी दिइन । आफू पनि पूर्व विद्यार्थी भएकाले कार्यक्रमलाई लिएर उत्साहित भएको उनले बताइन । 
यस्तै जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले क्याम्पसको शैक्षिक विकासका लागि पूर्व विद्यार्थीहरूले चासो राख्दै कार्यक्रम आयोजना गर्नु खुसीको कुरा भएको बताए । यस्ता कार्यक्रमले क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई क्याम्पससँग जोडिन पुन मौका मिलेको अध्यक्ष केसीले बताए । 
पूर्व विद्यार्थीहरूले क्षमता अनुसार आफू पढेको क्याम्पसको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार विकास लगायतका अन्य काम गर्न सक्ने पनि उनले बताए । पूर्व विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी हुन सबैलाई उनले आग्रह पनि गरे । आफू पनि पूर्व विद्यार्थी भएकोमा खुसी लागेका उनले सुनाए ।
कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसक्ने पूर्व विद्यार्थीहरूलाई इन्टरनेटका माध्यमबाट जोड्न प्रयास गरेको पूर्व विद्यार्थी समाजले जनाएको छ । समाजले पूर्व विद्याथर्ीहरुलाई क्याम्पससँग जोडिन गुगल फर्म तयार गरी सार्वजनिक पनि गरेको छ । 
जनता क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरूले उक्त गुगल फर्म भरेर जोडिन सक्ने समाजले जनाएको छ ।