सुनसरी । पानीको बहाव सामान्य अवस्थामा आएसँगै सप्तकोसी नदीमा मोटर बोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जल सतह र बहाव घट्दै गएपछि ६ महिनाअघि देखि बन्द रहेको मोटर बोट सोमबारबाट पुनः सञ्चालन ल्याइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो । मनसुन सक्रिय रहेको बेला जोखिम बढ्ने भएकाले गत जेठमा प्रशासनले मोटर बोट सञ्चालनमा रोक लगाएको थियो । सुनसरीको चतरादेखि वराहक्षेत्र हुँदै भोजपुरको हतुवागढीसम्म जेट बोट सञ्चालन हुँदै आएको छ । चाडपर्वको मुखमा मोटर बोट पुन सञ्चालनमा आएसँगै सप्तकोसी नदी आसपासका सुनसरी, भोजपुर, उदयपुर, धनकुटाका यात्रुहरूलाई सहज भएको छ ।