इटहरी । जनता बहुमुखी क्याम्पसको शैक्षिक विकासका लागि एक भएर काम गर्न तयार रहेको इटहरीका पूर्व विद्यार्थी तथा मेयर र निर्वतमान मेयरले बताएका छन् ।  

इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेल तथा निर्वतमान मेयर द्वारिकलाल चौधरीले शहरको प्रतिष्ठाको रुपमा रहेको जनता बहुमुखी क्याम्पसको शैक्षिक विकासका लागि मिलेर काम गर्न तयार रहेको बताएका छन् । 

जनता बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजले आयोजना गरेको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मेयर पौडेल तथा निर्वतमान मेयर चौधरीले शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार विकासका लागि प्रदेश र संघिय सरकारसँग बजेट माग गर्न संयुक्त पहल गर्ने बताएका हुन । 

निर्वतमान मेयर द्वारिकलाल चौधरीले शहरको प्रतिष्ठाको रुपमा रहेको क्याम्पसको विकासका लागि नेतृत्व गर्न मेयर हेमकर्ण पौडेललाई प्रस्ताव गरे । 

उनले भने,‘ तपाई स्थानिय सरकार प्रमुख हो, तपाई अघि लाग्नुस् म तपाईको पछि पछि हिड्न तयार छु, कहाँ कहाँ जानुपर्छ प्रदेश, संघिय सरकार सम्म जान म तयार छु । ’

यस्तै मेयर हेमकर्ण पौडेलले भने, ‘जनता क्याम्पस हाम्रो प्राथमिकता हो । यहाँ धेरै काम गर्न लागि रहेका छौँ । अहिले नयाँ व्यवस्थापन समिति आएपछि धेरै परिर्वतन देखिएको छ । हामी क्याम्पसको विकासका लागि काम गर्नेछौँ ।’

मेयर पौडेल र निर्वतमान मेयर चौधरी दुवै जनता बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी हुन । मेयर पौडेल क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए । 

pp

कार्यक्रममा बोल्दै जनता बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले नयाँ व्यवस्थापन टिम आएपछि क्याम्पसमा शैक्षिक सुधार हुँदै गएको बताए ।  

विद्यार्थीहरुको सहजताका लागि ५ वटा बस थप गरिएको अध्यक्ष केसीले जानकारी दिए । 

क्याम्पसका लागि छात्राबास निर्माणको लागि बजेट विनियोजन भएको पनि उनले जानकारी दिए । 

स्थानिय सरकारसँगको समन्वयमा शैक्षिक तथा भौतिक पूर्वाधार निर्माणका लागि काम भइरहेको अध्यक्ष केसीले बताए । 

विगतका स्थानिय सरकारले क्याम्पसको लागि कुनै बजेट नदिएको अवस्थामा वर्तमान सरकार आए पछि भने बजेट विनियोजन हुन थालेको बताए । छात्राबासको लागि पनि  स्थानिय सरकारबाट बजेट विनियोजन भएको उनले जानकारी दिए । 

कार्यक्रममा उपस्थित पूर्व विद्यार्थी तथा हाल काठमाण्डौँ विश्वविद्यालयका सहायक डिन खगेन्द्र आचार्यले क्याम्पसले प्राविधिक धारका नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बताए । 

काठमाण्डौँ विश्वविद्यालय र जनता बहुमुखी क्याम्पस बीचमा शैक्षिक गुणस्तर सुधारका लागि पनि आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए । 

कार्यक्रममा जनता क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले कसरी क्याम्पसको विकासका लागि काम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । 

विभिन्न तहमा पुगेका पूर्व विद्यार्थीहरुलाई क्याम्पससँग जोड्नका लागि पूर्व विद्यार्थी समाजले काम गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । 

कार्यक्रममा मेयर, निर्वतमान मेयर, काठमाण्डौँ विश्वविद्यालयका सहायक डिन, पूर्व स्ववियु सभापति, स्ववियु सभापति,पूर्व विद्यार्थी लगायतले शुभकामना तथा धारणा राखेका थिए । 

क्याम्पसको शैक्षिक सुधारका लागि सृजनशिल कार्यक्रमहरुलाई निरन्तरता दिने पूर्व विद्यार्थी समाजका अध्यक्ष मिलन त्रितालले बताए । आगामी दिनमा नयाँ नयाँ कार्यक्रम आयोजना गर्दै पूर्व विद्यार्थीहरुलाई क्याम्पससँग जोड्न प्रयास गर्ने उनले बताए ।