सुनसरी । जिल्ला अस्पताल इनरुवा सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष राई माथि दुर्व्यवहार गर्ने तथा हातपात गर्नेलाई कारवाहीको माग गर्दै आइतबार राजनीति दलले ज्ञापन पत्र बुझाएका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई डाक्टर राई माथि दुर्व्यवहार गर्ने र हातपात गर्नेलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
नेकपा एमाले, रास्वपा र नेकपा माओवादी केन्द्रले छुट्टा छुट्टै प्रजिअ तिवारीलाई ज्ञापन पत्र बुझाएको नेकपा एमालेका इनरुवा अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो । शनिवार नेपाली काँग्रेस इनरुवाका सचिव तथा इनरुवा-६ का खेमराज थापाले  डाक्टर राई माथि हातपात गर्नुका साथै दुर्व्यवहार गरेका थिए ।
राजनीति दलले दोषी माथि कडा भन्दा कडा कारवाहीको माग समेत गरेका छन् । यसैबिच इनरुवा अस्पताल सुधार संघर्ष समितिले घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कानुन अनुसार कारबाही लागि माग गरेका छन् । 
अस्पतालका डाक्टर माथि आपराधिक घटना कुनै राजनैतिक पार्टीले ढाकछोप गर्न खोजे सुधार सङघर्ष समितिले प्रतिवाद गर्ने समितिका दिलिपचन साहले जानकारी दिनुभयो । चिकित्सक जस्तो बिरामीको सेवामा अहोरात्र लाग्ने राष्ट्रसेवक कर्मचारी माथि हातपात गरेर अस्पतालमा डाक्टर टिक्न नदिने, अस्पताललाई दोहन गर्ने, भ्रष्टाचार गर्ने, अनावश्यक कर्मचारी भर्ना गर्ने र अस्पताललाई अस्थिरता तिर धकेल्ने कार्य कादाकी स्वीकार्य नहुने उहाँले बताउनुभयो ।
इनरुवावासीको स्वास्थ्यमा सहज पहुँच हुने नागरिकको नैसर्गिक अधिकारका लागि इनरुवा अस्पताल सुधार संघर्ष समिति सदैव लडिरहने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
त्यसै गरी जिल्ला अस्पताल इनरुवा सुनसरीका सम्पूर्ण कर्मचारीले एक बिज्ञाप्ती जारी गर्दै डाक्टर राई माथि ज्यान मार्ने उद्देश्यले हातपात गर्ने माथि किटानी जाहेरी दिएको २४ घण्टा भित्र कारबाही गर्न सरोकारवालासँग आग्रह समेत गरेका छन् ।
यसैबिच डाक्टर राई माथि हातपात गर्नेलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको विषयमा निष्पक्ष छानबिन गरेर दोषी माथि कारबाही प्रक्रिया अगाडि बढाउने सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो ।