सुनसरी — सातौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि झापा–११ ले जितेको छ । शनिबार सम्पन्न फाइनलमा सलहेश फुटबल क्लब सिरहालाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो ।

मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेल मैदानमा भएको फाइनल खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । निर्धारित समयको ४८ औं मिनेटमा सहलेशका खेलाडी अजय मार्टिनले गोलकिपर सन्दीप लिम्बुलाई बिट गर्दै उत्कृष्ट हेड गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको ६० औं मिनेटमा झापाका प्रदीप बुढाथोकीले सेकेण्ड बार च्याप्दै गोल गरेर खेललाई १–१ को बराबरीमा ल्याएका हुन् ।

jhapa11

त्यसपछि दुवै टिमले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा झापाका तर्फबाट दिवश उराव, अभिषेक गुरुङ, सौरभ लिम्बु, उत्सव राई र देवेन्द्र तामाङले गोल गरेका थिए । सहलेशका तर्फबाट राम थापा, आदित्य शाक्य र सन्तोष खत्रीले मात्र गोल गर्न सके । समीर तामाङको प्रहार झापाका गोलकिपर सन्दीपले रोकेपछि झापा उपाधि जित्न सफल भएको हो ।

प्रतियोगिताको म्यान अफ द फाइनल झापाका अभिषेक गुरुङ घोषित भए । उनले नगद ५ हजार हात पारे । सर्वोत्कृष्ट खेलाडी झापाका देवेन्द्र तामाङले नगद १० हजार पाए । झापाकै सन्दीप लिम्बु उत्कृष्ट गोलकिपर, उत्सव राई उत्कृष्ट मिडफिल्डर र सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए । सहलेशका पिटर सेगुन उत्कृष्ट डिफेन्स, समीर तामाङ उत्कृष्ट फरवार्ड र ५ गोल गरेका अजय मार्टिन सर्वाधिक गोलकर्ता भए । उनीहरु सबैले जनही सात–सात हजार रुपैयाँ हात पारे ।

6 (1)

उपाधिसँगै झापाले नगद ८ लाख रुपैयाँसहित ट्रफी हात पारेको छ । उपविजेता सहलेशले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ । विजेता तथा उपबिजेता टिमका खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेश सभाका सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई र एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष एवं कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कार प्रदान गरे ।

आयोजक एल एक्स सिटी फुटबल क्लबको आयोजनामा गत कार्तिक २ गतेदेखि सुरु भएको गोल्डकपमा दुई भारतीयसहित नेपालका विभिन्न १० टिमले सहभागिता जनाएका थिए ।