सुनसरी । मायाको चिनोमा ‘कुराउनी’ उपहार । तपाईलाई सुन्दै अनौठो लाग्यो होला । इटहरीमा रहेको एक सहकारी संस्थाले आफ्नो कार्यक्रमका अतिथीहरुलाई मायाको चिनो स्वरुप आफैले उत्पादन गरेको ‘कुराउनी’ (जसलाई खुवा पनि भनिन्छ) उपहार स्वरुप वितरण गरेको छ ।
इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्थाले ४७ औँ बार्षिक साधारण सभामा आएका सबै अतिथी र शेयर सदस्यहरुलाई कुराउनी उपहार स्वरुप वितरण गरेको हो । संस्थामा ६ सय ६७ जना शेयर सदस्य रहेका छन् ।
संस्था आफैले संकलन गरेको दुधबाट तयार गरिएको कुराउनीलाई बट्टामा तयार गरी मायाको चिनो स्वरुप वितरण गरेको हो ।
सामान्यतया औपचारिक कार्यक्रममा बोलाइएका अतिथीलाई सम्झना स्वरुप ‘मायाको चिनो’ उपहार स्वरुप दिइन्छ । मायाको चिनो भन्ने वित्तिकै कुनै फोटो, मुर्ति,काठ तथा फाईबरका तयारी वस्तु दिइन्छ ।
तर दुग्ध सहकारी संस्थाले आफ्नै उत्पादनलाई मायाको चिनो बनाएको हो ।
आफ्नै संस्थाको उत्पादनलाई प्रर्वधन गर्न तथा बाहिरी वस्तुको प्रयोगलाई निरुत्साहित गर्न यस किसिमको कार्यलाई सुरुवात गरिएको संस्थाका अध्यक्ष खेम प्रसाद काफ्ले जानकारी दिएका छन् ।
दुग्ध उत्पादक सहकारी संस्थाले नियमित रुपमा कुराउनी उत्पादन र विक्री गर्दै आएको छ । अन्य संस्थाहरुले पनि खरिद गर्न चाहे आवश्यकता अनुसार खरिद गर्न सकिने संस्थाका व्यवस्थापक ध्रुव प्रसाद कोइरालाले जानकारी दिए ।
आफ्नै संस्थाका उत्पादित वस्तुको प्रर्वधन गर्नु राम्रो काम भएको उद्योग कृषी तथा सहकारी मन्त्रालयकी डा.दिपा दिवालीले बताइन् ।
दुग्ध उत्पादक सहकारी संस्थाले राम्रो काम गरेको भन्दै उनले प्रशंसा गरिन् । यस्तै सदस्य केन्द्रित सहकारीहरुले विग्रदै गएको सहकारीको इज्जत जोगाइदिएको उनले बताइन् । मन्त्रालयले सहकारीलाई सहयोग गर्ने प्रतिवद्दता पनि व्यक्त गरिन् ।
संस्थाको ४७ औँ साधारण सभामा संस्थाका सबैभन्दा जेष्ठ सदस्यहरु बासुदेव पोख्रेल र हिरा देवी पौडललाई नगद सहित दोसल्ला ओढाइ सम्मान गरिएको छ ।
संस्थाले बार्षिक साधारण सभाको अवसरमा बर्षभरी नियमित रुपमा दुध ल्याउने ३५ जना किसानलाई पुरस्कृत गरेको छ । यस्तै कारोबार तर्फ उत्कृष्ठ कारोबार गर्ने १० जना कृषकलाई सम्मान गरेको छ ।
यस्तै शेयर सदस्य कृषकका विभिन्न तहमा उत्कृष्ठ नतिजा सहित अध्ययनरत सन्तानहरुलाई पनि सम्मान गरेको छ । यस्तै, संस्थाबाट नियमित रुपमा दुध खरिद गर्ने ७ जना उपभोक्ताहरुलाई सम्मान गरेको छ ।
सहकारी संस्थाले दुग्ध उत्पादक कृषकहरुको सुविधाका विभिन्न सृजनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाईभैँसी सुत्केरी भएमा १ हजार बराबरको प्राथमिक औषधी सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गएको बर्ष १८ जना किसानले यो सेवा लिएका थिए ।
संस्थाले नियमित रुपमा भैँसी सुन्दरी प्रतियोगिता आयोजना गर्दै आएको छ । भैँसीपालक कृषकहरुलाई प्रोत्साहन गर्नका लागि प्रतियोगितालाई थप वृहत रुपमा आयोजना गर्ने योजना रहेको संस्थाका सचिव राजेन्द्र धमलाले जानकारी दिए ।
्