झापा । भारतीय बजारमा सिटीसी चियाको माग बढेसँगै यस पटक पूर्वी नेपालका चिया किसान र उत्पादकले आकर्षक मूल्य पाएका छन् ।
गत वर्ष १५ रुपैयाँ प्रति किलोमा विकेको हरियो पत्तीको मूल्य यस पटक ५० रुपैयाँ सम्म पुगेको छ । नेपालमा उत्पादन भएको ७५ प्रतिशत सिटिसी चियाको बजार भारत हो ।
भारतमा उत्पादन बढी हुँदा नेपाली सिटीसी चियाको मूल्य घट्ने गरेको थियो । यो वर्ष भने भारतमा उत्पादन घटेकाले हरियो पत्तीको मूल्य बढेको किसानहरूले बताएका छन् ।
कोशी प्रदेशको झापा, इलाम, पाँचथर, मोरङ र धनकुटामा चियाको खेती हुँदै आएको छ । खेती हुने जिल्लामा पनि सबै भन्दा बढी झापामा सिटीसी चियाको खेती हुने गरेको छ ।
झापा बाहुन डाँगीका चिया किसान मानबहादुर भारतीले यस पटक हरियो पत्तीले राम्रो मूल्य पाएको बताए । ८ रुपैयाँ प्रति किलो हरियो चिया पत्ती बेचेका किसानले यो वर्ष ५० रुपैयाँ सम्म मूल्य पाएको बताए ।
उनले भने, ८ रुपैयाँ प्रति किलोमा बेच्दा समेत धानले भन्दा फाइदा हुन्छ यस पटक त ५० रुपैयाँ सम्ममा हरियो पत्ती बिक्यो ।
नेपाल चिया उत्पादक सङ्घका अनुसार भारतमा चिया उत्पादनमा कमी आउँदा यो वर्ष एक सय ८५ रुपैयाँ सम्ममा तयारी चिया विकेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार भापामा मात्रै १ करोड ८५ लाख किलो तयारी चिया उत्पादन हुने गरेको छ । झापामा ४६ सय ६० हेक्टरमा सिटिसी चियाको खेती हुने गरेको बोर्डको तथ्याङ्क छ ।
चिया निर्यात बढ्यो
पूर्वी नाका काँकडभिट्टाबाट ३६ प्रतिसतले चिया निर्यात बढेको छ । २०८१/८२ को पहिलो त्रैमासिकमा मेची भन्सार हुँदै ३६ प्रतिशतले चिया निर्यात बढेको हो । कार्यालयका अनुसार साउन भदौ र असोजमा मात्रै छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया भारत निर्यात भएको छ ।
कार्यालयका अनुसार चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।
यो वर्ष चियाको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयले जनाएको छ ।
चिया किसान सहकारी सङ्घ झापाका अध्यक्ष हर्क तामाङले भारतमा सिटीसी चियाको माग बढेको भए पनि निर्यातमा अझै समस्या रहेको बताए । उनले विभिन्न बाहानमा निर्यातमा भारतले दुख दिँदै आएको बताए ।
उनले भने अहिले पनि भारत सरकारले चिया निर्यातमा दुख दिँदै आएको छ । कहिले छापा हान्ने हल्ला फिँजाइन्छ त कहिले गुणस्तर नभएको भन्दै सामान रोकिन्छ । व्यपारीहरुले लगेका कारण चिया निर्यात भइरहेको छ ।