सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह ८ वर्षपछि सोमबार हुने भएको छ ।
सन् २०१६ मा १२ औँ दीक्षान्त समारोह गरेको प्रतिष्ठानले सोमबार १३ औँ दीक्षान्त गर्न लागेको हो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संकायका ६५७ जना विद्यार्थीहरू दीक्षित गर्ने प्रतिष्ठानले जनाएको छ ।
दीक्षान्तमा सन् २०१० देखि २०१७ ब्याचका एमबिबिएस, विडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच विएससी नर्सिङ र २०१२ देखि २०१८ सम्म नर्सिङ, विएमएलटी,विएमआइटी,एपिएस र पिएचडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरूलाई दीक्षित गरिने भएको हो ।
प्रतिष्ठानले प्रदान गदै आएको मेडलहरू पनि वितरण गरिने भएको छ । प्रतिष्ठानले हालसम्म एमबिबिएसमा २४ ब्याच र विडिएसमा १८ ब्याचका विद्यार्थीले शिक्षा हासिल गरेर निस्किएका छन् ।
प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थी देश विदेशका विभिन्न अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ ।