सुनसरी- सुनसरीको इटहरी १३ स्थित खनारमा यात्रुवाहक बसको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका छन् ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा स्थानीय सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन ।
दुर्घटना गराएर भागेको बसलाई आक्रोशित स्थानीयले ५ सय मिटर पर पुगेर आगो लगाएका छन् ।
आगजनीबाट जलेर बस पूणर्रूपले ध्वस्त भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै खनारक्षेत्र तनावग्रस्त बनेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने कोसी राजमार्ग भएर गुड्ने सवारी साधनलाई प्रहरीले सुनसरी मोरङ सिचाई आयोजनाको नहर हुँदै बाइपास गरेर सञ्चालन गरेको छ ।
चालकलाई भने इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ