सुनसरी - धार्मिक तथा पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्रमा सुविधा सम्पन्न प्रहरी चौकी निर्माण गरी सञ्चालनमा आएको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा नवनिर्मित अढाई तल्ले भवनको बुधवार कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गरेका छन् ।
नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल मानिएको वराहक्षेत्रमा भारतबाट समेत उल्लेख्य मात्रामा दर्शनार्थी आउने र जमघट बढी हुने भएकाले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउनका साथै सेवा प्रवाहमा सहजता ल्याउन सुविधा सम्पन्न भवनले सहयोग पुग्ने विश्वास गरिएको छ ।
तीन करोड २१ लख ६९ हजार ३ सय १३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवन काठमाण्डौको जे एस एस इन्जिनियरिङ प्रालिले १५ महिनामा निर्माण सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए ।