सुनसरी- पूर्वपश्चिम राजमार्ग स्थित इटहरीको बालग्राम चैकमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । आइतबार दिउँसो इटहरी १६ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा संखुवासभाको धर्मदेवी निवासी श्रीमान् श्रीमतीको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धर्मदेवी नगरपालिका ३ बस्ने ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिचान खुलिनसकेको सवारी साधनको ठक्करबाट उनीहरू गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार म्याजिक भ्यान र टिपर ओभरटेक गर्नेक्रममा मोटरसाइकल उक्त दुई सवारी साधनको बिचमा चेप्टिएर दुर्घटनामा परेको हो । दुर्घटना स्थल छेउमै रहेको सिसी क्यामेरा बिग्रिएकोले कुन सवारी साधनले मोटरसाइकललाई ठक्कर दिएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल आसपासमा रहेको अन्य सिसी क्यामेराको सहयोगमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।